काठमाण्डौ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले बन्द भएको करिब चार वर्षपछि काठमाडौँ–दुबई उडान पुनः बिहीबारदेखि नियमित गर्दैछ । 

काठमाण्डौ–दुबई सीधा उडानका लागि सबै तयारी पूरा भएको निगमका कर्पोरेट निर्देशक रामहरि शर्माले जानकारी दिए । उनका अनुसार १५८ सिट क्षमताको ए– ३२० एयरबस गन्तव्यमा उड्ने तयारीमा छ । दुबई उडानका लागि बुकिङ पूरा भइसकेको र पहिलो उडानमा यात्रु मात्र रहनेछन् ।  

निगमको कार्यतालिका अनुसार एयरबस बिहीबार राति ११ः ३० बजे उडेर २ः १५ बजे दुबई अवतरण गर्नेछ भने भोलिपल्ट बिहान १० बजे काठमाण्डौ आइपुग्नेछ । काठमाण्डौबाट दुबई उडान अवधि चार घण्टा ४० मिनेट र दुबईबाट काठमाडणैं आउन चार घन्टा १५ मिनेट समय लाग्ने बताइएको छ । 

संयुक्त अरब इमिरेट्सको दुबईमा नेपाली कामदारको संख्या अत्यधिक रहेकाले पनि सम्भावना बोकेको गन्तव्य हो । निगमले सातामा तीनवटा उडान गर्नेछ । काठमाण्डौंबाट आइतबार, मंगलबार र बिहीबार तथा दुबईबाट सोमबार, बुधबार र शुक्रबार उडान हुनेछ । 

काठमाण्डौ– दुबई उडानको सुरुको प्रवद्र्धनात्मक भाडा दर राउण्ड ट्रिपको रु ३२ हजार तोकेको प्रवक्ता शर्माले बताए । निगमले अहिले दुई एयरबस र एउटा बोइङ जहाजमार्फत अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । हाल निगमले भारतको नयाँ दिल्ली, मुम्बई, बैंङ्लोर, मलेसियाको क्वालालम्पुर, थाइल्याण्डको बैंकक, कतारको दोहा र हङकङमा उडान भर्दै आएको छ । दुबई उडान सुरु गरेपछि निगमको आठवटा उडान गन्तव्य पुग्नेछ । 

दुबई उडानमार्फत ४० हजारभन्दा बढी यात्रुलाई सेवा दिएर वार्षिक रु एक अर्ब आम्दानी गर्ने निगमको लक्ष्य छ । वि.सं २०४१ माघदेखि दुबईमा सुरु भएको निगमको व्यवसायिक उडान सन् २०१२ अगस्टदेखि बन्द भएको थियो ।