काठमाण्डौ । नेप्से परिसूचकले आज अलटाइम हाई १८८१.४५ को विन्दूलाई ब्रेक गरेको छ । नेप्से बढेर १९०० माथि पुगिसके पनि यो पटकको बुल रनमा बैंकिङ समूहमा उछाल आउन थालेको केही दिन मात्र हुँदैछ । नेपालको सेयर बजारमा बैंकिङ समूहको हिस्सा सबैभन्दा बढी छ, यसकारण पनि यो समूहमा हुने घटबढले बजारको दिशा तय गर्ने विश्लेषकहरु ठान्छन् । पछिल्ला केही दिनमा बैंकिङ समूहमा समेत उछाल आउन थालेसँगै अब बजारमा दिगो बुल सुरु भएको हो कि भन्ने आभास हुन थालेको जानकार बताउँछन् । 

यो पटक अन्य उपसमूहमा उछाल आएपछि अन्तिममा मात्र बैंकिङ समूहमा उछाल आएकोले बैंकका सेयरमूल्य अझै पनि अण्डरभ्यालुड अवस्थामै छन् । 

यसअघिको अलटाइम हाईमा कायम बैंकहरुको दोश्रो बजार मूल्यको तुलनामा हाल बैंकहरुको दोश्रो बजार मूल्य निकै कम छ । चार वर्षअघिको अलटाइम हाईको कीर्तिमान बनेको बुलमा वाणिज्य बैंकहरुको दोश्रो बजार मूल्य कति पुगेको थियो होला त ? एक रिपोर्ट:

सन् २०१६ जुलाई २७ अर्थात २०७३ साउन १२ गते। यो नेपालको धितोपत्र बजारकै ऐतिहासिक दिन थियो। यो दिन नेप्से परिसूचकले सर्वाधिक उचाइ कायम गरेको थियो।

त्यस दिन बैंकिङ उछाल आउँदो परिसूचकले १८८१.४५ को विन्दु कायम गरेको थियो। जुन आज अर्थात २०७७ मंसिर ११ बजार खुल्नासाथ ब्रेक भयो। आज नेप्से परिसूचक १९०० को विन्दु पार गर्दै कारोबार भइरहेको छ।

राम्रा र बलिया कम्पनीहरुमा उछाल आउँदा परिसूचक अलटाइम हाई ब्रेक गर्दै अगाडि बढिरहेको छ। राम्रा कम्पनीहरुमा बैंक अगाडि आउँछ। अझै त्यसमा पनि वाणिज्य बैंकहरु।

अब २०७३ साउन १२ नेप्से अलटाइम हाई हुँदा बैंकिङको प्रदर्शन उच्च थियो। त्यतिबेला वाणिज्य बैंकको सेयमूल्यमा निकै चमक थियो।

त्यो बेला २७ वटा वाणिज्य बैंकमध्ये सबैभन्दा बढी सेयरमूल्य स्याट्यान्डर्ड चार्टर्ड बैंकको थियो। त्यति यो बैंकको प्रतिकित्ता ३ हजार ९५२ रुपैयाँ कायम भएको थियो। आज ६५८ रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस दिन ३ हजार ९२० अन्तिम कारोबार मूल्य रहेको एभरेस्ट बैंकको आज ७०३ प्रतिकित्तामा कारोबार भइरहेको छ। त्यो बेला नबिल बैंकको सेयर प्रतिकित्ता २ हजार ७९४ रुपैयाँ कायम भएको थियो। यतिखेर १ हजार १४० रुपैयाँभन्दा माथि कारोबार भइरहेको छ।

यसैगरी नेप्से अलटाइम हाई भएको त्यस दिन नेपाल एसबीआई बैंकको २ हजार १५२ रुपैयाँ, हिमालयन बैंकको १ हजार ७१४ रुपैयाँ र सिद्धार्थ बैंकको १ हजार ४४० रुपैयाँ कायम भएको थियो। ऐतिहासिक उक्त दिन नेपाल बंगलादेश बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, एनआईसी एसिया बैंक, कृषि विकास बैंक र सनराइज बैंकको क्रमशः १२५५ रुपैयाँ, १२२४ रुपैयाँ, ११५७ रुपैयाँ, १११३ रुपैयाँ र १०२४ रुपैयाँ कायम भएको थियो।

लक्ष्मी बैंकको त्यस दिन अन्तिम कारोबार मूल्य प्रतिकित्ता ९७२ रुपैयाँ कायम भएको थियो भने सानिमा बैंकको ९४५ रुपैयाँ पुगेको थियो। उक्त दिन माछापुच्छ्रे बैंकको ९४१ रुपैयाँ, एनएमबी बैंकको ९४० रुपैयाँ, प्राइम कमर्सियल बैंकको ९३२ रुपैयाँ, सिटिजन्स बैंकको ८७० रुपैयाँ, बैंक अफ काठमाण्डूको ८१९ रुपैयाँ, एनसीसी बैंकको ६५२ रुपैयाँ, कुमारी बैंकको ६४० रुपैयाँ, मेगा बैंकको ६३० रुपैयाँ, ग्लोबल आईएमई बैंकको ६२३ रुपैयाँ, सेन्चुरी कमर्सियल बैंकको ६१५ रुपैयाँ, हाल ग्लोबल आईएमई बैंकसँग मर्ज भएको जनता बैंकको ६०० रुपैयाँ, प्रभु बैंकको ४९७ रुपैयाँ र सिभिल बैंकको ३९६ रुपैयाँ कायम भएको थियो।