काठमाण्डौ । नाडा अटोमोवाइल एशोसिएसन अफ नेपालको नयाँ नेतृत्वले प्रभावकारी ढङ्गले समन्वयको काम गर्न नसक्दा समग्र अटोमोवाइल क्षेत्र नै ठप्प हुने अवस्था बन्न थालेको छ । 

विशेष गरी सरकार र अर्थमन्त्रीसँग समन्वयात्मक सम्बन्ध राख्न नयाँ नेतृत्व असफल बन्दा अटोमोवाइल क्षेत्रलाई सरकारले निरन्तर पेल्न थालेको भन्दै नाडाका सदस्यहरुले नेतृत्वप्रति तीव्र असन्तुष्टि जनाउन थालेका छन् । 

हुन पनि नाडाको अध्यक्षमा ध्रुव थापा विजयी भएपछि उनलाई अर्थमन्त्री र सरकारका अधिकारीहरुले खासै भाउ दिएका छैनन् । उनले पनि प्रभावकारी ढंगले समन्वय गर्न नजान्दा अटोमोवाइल क्षेत्रमा संकटको कालो बादल मडारिन थालेको छ । 

सोमबार नेपाल राष्ट्रबैंकका तीन कार्यकारी निर्देशकहरुले वाणिज्य बैंकका सीइओहरुलाई बोलाएर गाडी लगायतका बिलासिता प्रयोजनका लागि आयात हुने वस्तुको एलसी नखोल्न कडा निर्देशन दिए । यो निर्देशनपछि गाडी आयात ठप्प भई अटोमोवाइल क्षेत्रमा भएको अरबौंको लगानी धरापमा पर्ने भन्दै व्यवसायीहरु अत्तालिएका छन् । तर, उनीहरुलाई थमथम्याउनेबाहेक पोलिसी मेकिङको लेभलमा प्रभावकारी ढंगले कुनै पनि कदम चाल्न नाडा नेतृत्वले सकेको छैन । 

‘आयात प्रतिस्थापनको कुरा भइरहँदा नै अटोमोवाइल सेक्टरले देशको उत्पादनमूलक क्षेत्रमा पार्ने प्रभाव र त्यसको आवश्यकताको विषयमा अर्थमन्त्री र सरकारका उच्च अधिकारीहरुलाई बुझाउने गरी नाडा नेतृत्वबाट समवन्य नै भएन ।’ नाडाका एक पुराना सदस्यले बिजशालासँग भने–‘ध्रुव थापाजीले चुनाव त जित्नुभयो, तर सरकारसँग समन्वय भने गर्न सक्नुभएन । हामीले कमजोर नेतृत्व बनाएछौं भन्ने कुरा अहिलेको संकटमा महसुस हुन थालेको छ ।’ 

रोचक कुरा त के भने नाडामा ध्रुव थापा अध्यक्ष भएपछि नवनिर्वाचित नयाँ टिमले निरन्तर प्रयास गर्दा पनि अर्थमन्त्री जनार्दन शर्मासँग भेटका लागि समय नै पाउन सकेको छैन । ‘यसले पनि नयाँ नेतृत्वको क्षमतामाथि प्रश्न उठाउने ठाउँ दिएको छ ।’ अर्का एक अटोमोवाइल व्यवसायीले भने–‘निर्वाचित भएर नयाँ टिम आएको ४ महिनामा पनि भेटका लागि अर्थमन्त्रीको समय नपाउनु लज्जाको विषय हो ।’ 

निर्वाचित भएको ४ महिना भइसक्दा पनि अर्थमन्त्रीसँग मात्र होइन, कतिपय उच्च सरकारी अधिकारीसँग पनि नाडाले कुनै समन्वय, छलफल लगायतका काम गरेको छैन । आफ्नो व्यवसायका गाह्रा/अप्ठ्यारा कुराहरु सरकारका निकायहरुसम्म पुर्याउने कुरामा पनि नयाँ नेतृत्व कमजोर सावित भएको स्वयम् व्यवसायीहरु बताउँछन् । 

अर्थमन्त्रालयस्थित उच्च स्रोतकाअनुसार राष्ट्रबैंकले गाडी आयात रोक्ने गरी वाणिज्य बैंकका सीइओहरुलाई निर्देशन दिएपछि मात्र नाडा तातेको देखिएको छ । ‘तर, अर्थमन्त्रीसम्मको पहँुच खोज्ने काम अहिले पनि भइरहेको छ ।’ वर्तमान कार्यसमितिका एक पदाधिकारी भन्छन्–‘अध्यक्ष ज्यूको रिलेसन नै माथिल्लो तहसम्म रहेनछ । अर्थमन्त्रीसँग भेट गराइदिनुपर्यो भनी उहाँ विभिन्न शक्तिकेन्द्रसँग बल्ल गुहार गर्दै हिँडिरहनुभएको छ ।’ 

बिजशालासँगको अनौपचारिक कुराकानीमा कतिपय अटोमोवाइल व्यवसायीहरुले नाडाको नयाँ अध्यक्षको सक्रियता र प्रभावकारिता बेलैदेखि देखिएको भए अहिलेको अवस्था नै नआउने दाबी समेत गरेका छन् । ‘शेखर गोल्छादेखि अञ्जन श्रेष्ठसम्मको पालामा नाडा नेतृत्वको यति बिजोग अवस्था देखिन्न थियो ।’ व्यवसायीहरुले भने । 

नाडाका अध्यक्ष ध्रुव थापालाई हामीले ‘तपाईको पछिल्लो पटक अर्थमन्त्रीसँग कहिले भेट भएको थियो ?’ भनेर सोधेका थियौं । उनले पनि अहिलेसम्म अर्थमन्त्रीसँग भेट हुन नसकेको स्वीकार गरेका छन् । ‘पहिला भेट्ने कुरा भएको थियो, तर मेरो नै टाइम मिलेन, म त्यसबेला पोखरातिर थिएँ ।’ उनले बिजशालासँग भने–‘त्यसपछि उहाँको टाइम मिलेन ।’

स्मरणरहोस्, यसअघि नाडामा नयाँ नेतृत्व आउनेबित्तिकै तत् समयका अर्थमन्त्रीसँग भेट हुने गरेको थियो । अर्थमन्त्रीले नै चासो दिएर मन्त्रालय बोलाई नयाँ कमिटीलाई बधाईं दिंदै अटोमोवाइल व्यवसायी र समग्र यो क्षेत्रको गुनासा सुन्ने गरेका थिए ।