काठमाण्डौ । आयातमा भइरहेको निरन्तरको वृद्धिका कारण चालु खाता घाटा विस्तार भई रु.२०४ अर्ब ४३ करोड पुगेको छ । 

नेपाल राष्ट्रबैंकले देशका प्रमुख आर्थिक परिसूचकहरुको चालु आर्थिक वर्षको नौ महिनासम्मको समीक्षा सार्वजनिक गर्दै चालु खाता घाटा बिस्तार हुँदै गएको बताएको हो । 

चालु खाता घाटा अघिल्लो वर्षको सोही अवधिमा रु.१७२ अर्ब ६७ करोडमा सीमित थियो भने अघिल्लो महिना अर्थात ८ महिनासम्ममा यस्तो घाटा रु.१९१ अर्ब १३ करोड रहेको थियो । यो हिसाबले चालु खाता घाटा एक महिनामै १३ अर्ब ३० करोडले बढेको देखिएको छ । 

अमेरिकी डलरमा अघिल्लो वर्षको नौ महिनामा १ अर्ब ६८ करोड रहेको चालु खाता घाटा समीक्षा अवधिमा १ अर्ब ७९ करोड पुगेको छ । 

समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.६४ अर्ब ६८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.१४ अर्ब ६० करोडले घाटामा रहेको थियो । अघिल्लो महिना शोधनान्तर स्थिति रु.५८ अर्ब ९९ करोडले घाटामा थियो । यसको अर्थ एक महिनामै शोधानान्तर स्थितिको घाटा ६ अर्बले बढेको देखिएको छ । 

समीक्षा अवधिमा विप्रेषण आप्रवाह २०.९ प्रतिशतले वृद्धि भई रु.६५३ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.६ प्रतिशतले बढेको थियो भने चालु वर्षको फागुनसम्ममा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले वृद्धि भई रु.५८२ अर्ब १९ करोड पुगेको थियो । 

यो अवधिमा आयातको वृद्धिदर २१.३ प्रतिशत र निर्यातको वृद्धिदर १६.९ प्रतिशत रहेको छ।