सुदूरपश्चिम प्रदेशमा रोजगारीका अवसर नहुँदा यहाँका नागरिकको मुख्य गन्तव्य भारत हो । प्रदेशमा ठूला उद्योग, कलकारखानाहरू छैनन् । लगानीको पूर्वाधार नै नहुँदा आन्तरिक तथा बाह्य लगानी प्रदेश भित्रिन सकिरहेको छैन । कोरोना महामारीले त झन् यहाँको अर्थतन्त्रलाई शिथिल पारेको छ । यस्तो अवस्थामा सुदूरपश्चिम प्रदेशमा अर्थतन्त्रमा सुधार ल्याउन के हुँदैछ ? प्रदेशमा लगानीको वातावरण कसरी सिर्जना गर्न सकिन्छ ? यहाँका नागरिकहरूलाई स्थानीय स्तरमै रोजगारी उपलब्ध गराउने योजना के छ ? यिनै विषयमा केन्द्रीत रहेर बिजशालाका सुदूरपश्चिम प्रदेश प्रतिनिधि जीवन बिष्टले प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहोरासँग गरेको कुराकानी सारांशमा –

कस्तो छ प्रदेशको अर्थव्यवस्था ? लगानीको अवस्था के छ ? 
अहिले लगानीको सम्भावना छैन । साउन, भदौतिर लगानी लाग्दैन, प्रतिकुल मौसम हुन्छ । वर्षको सुरुवाती चरण पनि हुन्छ । कोरोनाको कहर र प्राकृतिक कहरका कारणले बाह्य लगानी आउने वातावरण छैन । तर यसका लागि हामीले पूर्वाधार तयार गरेका छौ । कञ्चनपुरमा सुक्खा बन्दरगाह जो ड्राइपोर्टको अवधारणा अगाडि सारेका छौं । त्यस्तै दैजी छेला औद्योगिक क्षेत्रको काम अघि बढेको छ । 

कैलालीको लालपुरमा पनि विशेष औद्योगिक क्षेत्र अन्तरगत काम भइरहेको छ । लम्कीको डुडेझारी औद्योगिक क्षेत्रमा पनि काम सुरुवाती चरणमा छ । यसले गर्दा आगामी दिनमा लगानी भित्रिने, ठूला कम्पनी पनि आउने सम्भावना प्रबल छ । तर अहिले हामी प्रारम्भिक रूपमा पूर्वाधारको तयारीमै छौं । 
अहिले प्रतिकुल समयका कारण तत्काल लगानीको सम्भावना नरहे पनि अबको केही समयमै प्रदेशमा आर्थिक गतिविधि निकै अगाडि बढ्ने छन् ।

अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्ने कार्यक्रम हाम्रो गत वर्ष नै तय भएको थियो, तर कोरोना कहरका कारण गर्न सकेनौ । यसबर्ष अनुकूल समय भए हामी लगानी सम्मेलन पनि गर्नेछौ ।

त्यसले पनि थप बल पुग्छ यहाँ उद्योग स्थापना गर्न । हामी लगानी बोर्डको प्रवद्र्धन गर्न गइरहेको छौ । त्यसका लागि नीति, नियम र कानुनको तर्जुमा गर्न गइरहेका छौं । 

आगामी दिनमा लगानीको सहज वातावरण बनाउन, उद्योग स्थापना गर्न प्रदेश सरकारले नीतिगत रुपमा कार्यक्रमहरू कार्यान्वयनको चरणमा गृहकार्य गरिरहेको ब्यहोरा जानकारी गराउँछु ।

गत वर्ष अन्य प्रदेश र राष्ट्रिय स्तरको भन्दा राम्रो वृद्धिदर हासिल गर्ने सफलता प्राप्त भएको थियो । यसवर्षको लक्ष्य के छ ?
आर्थिक वर्ष २०७६/७७ मा पनि चैत्र ११ बाट लकडाउन सुरु भएको थियो । त्यसको बाबजुदमा पनि आर्थिक बृद्धिदर अन्य प्रदेश र राष्ट्रिय औसत भन्दा पनि माथि ४.०८ प्रतिशत हासिल गर्न सफल भएका थियौ । यस वर्ष पौने ८ प्रतिशत वृद्धि हुने लक्ष्य लिएको छौ । 

लकडाउन र कोभिडले अन्य समस्या सिर्जना नगरेमा अथवा कोभिडको समस्या चाँडै समाधान भइहालेमा हामी लक्ष्यमा पुग्न सक्छौ, तर समस्या झन् भयावह भयो भने यो लक्ष्य प्राप्तिमा केही सकस हुनसक्छ । 

त्यसले गर्दा पौने ८ प्रतिशतको वृद्धिदरको लक्ष्य प्रदेश सरकारले लिएर त्यहीअनुसार गृहकार्य गरिरहेको छ । सहज परिस्थिति भएमा हाम्रो प्रदेशले द्रूत गतिमा फड्को मार्नेछ । यसअनुसार सम्बन्धित मन्त्रालयहरूले पनि काम गरिरहेका छन् । गत वर्षको भन्दा अझ बढी आर्थिक बृद्धिदर हासिल गर्न हामीले सक्दो प्रयास गरिरहेका छौं  ।

कोरोनाका कारण रोजगारी गुमाई स्वदेश फर्किएकाहरु यहीँ केही गर्न चाहन्छन् । त्यस्ता युवाहरुका लागि प्रदेश सरकारले के सहयोग गर्छ ?
केही दिनभित्रै सुदूरपश्चिम प्रदेश स्वरोजगार विकास कोष कार्यान्वयनको चरणमा जादैछौँ । यसका लागि कार्यकारी अधिकृतलाई नियुक्ति गर्न आवश्यक गृहकार्य गरिरहेका छौं । 

हामीले एक अर्ब रकमको साना तथा मझौला उद्यमलाई बैंक तथा वित्तीय संस्थामार्फत पुनरकर्जा दिनका लागि र नयाँ उद्यमीलाई कर्जा प्रवाह गराउनका लागि न्यूनतम ब्याजदरमा हामीले एक अर्ब रकम बजेटमार्फत विनियोजन गरेका छौ । त्यो पनि एक महिनाभित्रै कार्यान्वयनको चरणमा जान्छ  । 

सुदूरपश्चिम स्वरोजगार कोषको डेढ अर्बको बजेट छ । कृषि मन्त्रालय र पर्यटन तथा औद्योगिक मन्त्रालयमा विभिन्न अनुदानका कार्यक्रमहरू छन् ।

अबको केही दिनमै सबै कार्यान्वयनमा आउँछन् र यसले गर्दा स्वदेशमै केही गर्न चाहनेहरूलाई सहज हुन्छ । 

कोरोनाका कारण आर्थिक गतिविधि ठप्पप्राय छ । यस्तो अवस्थामा अर्थतन्त्रलाई जोगाउने उपाय के हुनसक्छ ? 
पहिलो त बेरोजगारीको समस्या हल हुनुपर्छ । उत्पादकत्वमा वृद्धि हुनुपर्छ । आयातित सामाग्रीको अनुपात घटाउनुपर्छ । आत्मनिर्भर अर्थतन्त्र र समाजवाद उन्मुख अर्थतन्त्रको परिकल्पना जो गरेका छौ, त्यसमा अगाडि बढ्नुपर्नेछ । अर्थतन्त्र सुस्त र गतिहीन अवस्थामा पुगेको अवस्थामा मितव्ययीता, आर्थिक अनुशासन, पारदर्शिता, जबाफदेहिता र लगानीमैत्री वातावरण बनाउँदै करमा पनि सहुलियत प्रदान गरेका छौं । 

यी सबै कुराहरूलाई मध्यनजर गर्दै हामीले लगानीयोग्य वातावरण तयार गरिरहेका छौ । विदेशी र आन्तरिक स्वदेशी लगानी भित्र्याउन प्रदेशको अर्थतन्त्रलाई चलायमान बनाउन र प्रदेशमा रोजगारीका अवसर सिर्जना गर्न प्रदेश सरकार लागि परेको छ । 

हामीले बनाएका योजना र कार्यक्रमको कार्यान्वयन गर्न सके कोरोनाले शिथिल पारेको अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ । कोरोनाले भारत र बिदेशबाट आएकाहरूलाई रोजगारीका अवसर प्रदान गर्न हामीले कार्यक्रमहरू ल्याएका छौं, यसमा हामी सफल हुन्छौ ।

त्यसो भए अहिलेको मुख्य प्राथमिकतामा के हो ? 
अहिले हामीले हेर्ने भनेको कोभिड–१९ ले प्रभाव पारेको क्षेत्र हो । हामीसँग उद्योग, कलकारखाना छैन । अरू उत्पादन छैन हामीसँग भएको कृषि नै हो । हामीले कृषिमा लगानी बढाउने र त्यसपछि शिक्षा, स्वास्थ्य, उद्योग, पर्यटनलाई प्राथमिकतामा राखेर काम गर्दैछौं । प्रदेशको बेरोजगारीदर घटाउन र आर्थिक वृद्धिदर बढाउनका लागि अहिलेको मुख्य प्राथमिकता कृषि नै हो ।

किसानलाई हामीले न्यूनतम ब्याजदरमा पुँजी, बिना धितो ऋण दिने योजना बनाएका छौं । उनीहरूलाई चाहिने तालिम दिन्छौँ, सचेतना गराउँछौ ।
अहिले आउने विकास निर्माणका कुराहरूमा रोजगारी बढाउँछौ । कृषि, उद्योग, पर्यटनमा रोजगारीका अवसर सिर्जना गर्छौं । जो विदेशबाट अथवा भारतबाट आउनुभएको छ, उहाँहरुलाई त्यसमा सहभागी गराउँछौं । जो बेरोजगार भएर बस्नुभएको छ, जो भारतबाट आउँदै हुनुहुन्छ, तेस्रो मुलुकबाट आउँदै हुनुहुन्छ । उहाँहरूलाई सुदूरपश्चिम स्वरोजगार विकास कोषबाट र प्रदेश सरकारको बजेटबाट रोजगारी प्रदान गर्छौ ।

बजेट र कार्यक्रम कार्यान्वयनको अवस्था कस्तो रहन्छ ? 
हामीले अहिले नै कार्यक्रम कार्यान्वयनको चरणमा लगिरहेका छौ । यस वर्ष पहिलो चौमासिकबाटै कार्यक्रम कार्यान्वयन हुन्छन् । बर्षायाम, कोभिड १९ र लकडाउनले केही समस्या भइरहेको छ । कार्यक्रम अहिले नै कार्यान्वयन गर्न हामीले पूर्वाधार तयार गरिसकेका छौ । 

आर्थिक वर्षको अन्त्यमा मात्रै योजना कार्यान्वयन गर्ने परिपाटीको अन्त्य गर्दैछौ । सम्बन्धित मन्त्रालयहरूसँग समन्वय भइरहेको छ । कुनै पनि हालतमा पहिलो चौमासिकमा हामी कार्यक्रम कार्यान्वयनमा लैजान्छौ । त्यो तयारी भइसकेको छ ।

बैंकिङ पहुँचको अवस्था कस्तो छ ? ८८ वटै स्थानीय तहमा पुर्याउने योजना थियो नि ? 
प्रदेशको एउटा स्थानीय तहमा मात्रै हामीले वाणिज्य बैंकको शाखा स्थापना गर्न सकेका छैनौ । प्रदेशका ८७ वटा स्थानीय तहमा हामीले बैंकिङ पहुँच पुर्याइरहेका छौं । एउटा स्थानीय तहमा भने कोरोना भाइरसका कारण तत्काल काम गर्न समस्या भइरहेको छ ।

अबको केही महिनाभित्रै ८८ वटै स्थानीय तहमा वाणिज्य बैंकको उपस्थिति हुन्छ । अन्य बैंक तथा वित्तीय संस्थाहरू पनि आफ्ना शाखा स्थापना गरिरहेका छन् । पूर्णरुपमा प्रदेशका सबै स्थानीय तहमा आर्थिक गतिविधि सञ्चालन हुन्छन् ।

विपद् व्यवस्थापनमा प्रदेश सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै आलोचना भइरहेको छ नि ? 
सामाजिक सञ्जालमा आएका कुराहरूमा म टिकाटिप्पणी गर्न चाहन्न । प्रदेश सरकारले प्रभावकारी ढङ्गले विपद् व्यवस्थापनको काम गरिरहेको छ । जे सरकारले गर्नुपर्ने हो त्यो गरिरहेका छौ । रोग, भोग र शोकबाट जनतालाई उन्मुक्ति दिनुपर्छ भन्नेमा प्रदेश सरकारको ध्यान केन्द्रित भएको छ । हामीले प्रकृतिको कहर (बाढी, पहिरो)लाई पनि व्यवस्थापन गर्नुपर्नेछ भने कोरोना महामारीसँगको लडाइँ जित्नैपर्ने अर्को चुनौती छ । 

हामीले यिनको व्यवस्थापनका लागि सबै तहसँग समन्वय गरेर काम गरिरेका छौ ।

बाढी–पहिरो पीडितलाई राहात र घाइतेको उपचार गरिरहेका छौ । कोरोना महामारी व्यवस्थापनमा पनि प्रभावकारी काम गरिरहेका छौं । हामीले प्रदेशमा परीक्षणको दायरा बढाउन प्रदेशका तीन ठाउँमा पिसिआर मेसिन जडान गरिसकेका छौं भने अन्य तीन ठाउँमा जडानको तयारी छ । आगामी दिनमा पनि संक्रमण फैलिन नदिन र जनतालाई रोग, भोग र शोकबाट उन्मुक्ति दिन प्रदेश सरकार कटिबद्ध रहनेछ ।