काठमाण्डौ । माछापुच्छ्रे बैंक र नेपाल चिकित्सक संघबीच नेपाल चिकित्सक संघसँग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आबद्ध रहेका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीहरु तथा संस्थाहरुलाई बिशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । 

सम्झौतापत्रमा नेपाल चिकित्सक संघको तर्फबाट अध्यक्ष डा.लोचन कार्की र माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरे । 

राज्यको अभिन्न अंगको रुपमा रहेको चिकित्सा क्षेत्रमा आबद्ध चिकित्सक, स्वास्थ्यकर्मी तथा संस्थाहरुलाई बैंकले बिशेष प्राथमिकतामा राखेर बैंकिङ्ग सेवा प्रदान गर्नेछ । बैंकले संघको अफिसियल बैंकको रुपमा आफ्ना सम्पूर्ण शाखा सञ्जालबाट सघंका सदस्यहरुलाई निक्षेप खाता, कर्जा तथा अन्य बैंकिङ्ग सुबिधामा बिशेष सहुलियत प्रदान गर्नेछ । 

स्थापनाकालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक पूर्वदेखि पश्चिम साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना १५९ वटा शाखाहरु, १३४ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २९८ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १ हजारभन्दा बढी पिओएसमार्फत ग्राहकहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ ।