काठमाण्डौ । नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले आज (जेठ १ गते)देखि लागू हुने गरी चिकित्सकको परामर्श सेवा शुल्क बढाएको छ। 

संघका महासचिव डा सञ्जीव तिवारीले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श शुल्क पहिलेको शुल्कमा १४ प्रतिशत बढाइएको जानकारी दिए। संघले चिकित्सको परामर्श शुल्क २ वर्षपछि बढाएको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तर्फबाट शुल्क पुनरावलोकन तथा निर्धारण नहुन्जेलसम्मका लागि बहिरंग सेवा शुल्क (ओपीडी) मा वैज्ञानिक तथा सरोकारवाला निकायको परामर्शका आधारमा शुल्क तोक्ने सकिने अख्तियारीलाई मुख्य आधार बनाएर नेपाल राष्ट्र बैंकको मुद्रास्फीति तथा शुल्क परामर्श समितिले सिफारिस गरेको आधारमा शुल्क बढाइएको तिवारीले बताए।

महासचिव तिवारीले चिकित्सकको नयाँ परामर्श शुल्क ९४० रुपैयाँ ४२० रुपैयाँसम्म तोकिएको बताए। नयाँ शुल्कअनुसार ५ वर्षसम्म अनुभव भएका एमबीबीए तथा बीडीएस तहका चिकित्सकको शुल्क ४२० रुपैयाँ र ५ वर्षभन्दा माथि अनुभव भएकाको ५१५ तोकिएको छ।  

यस्तै अब ५ वर्षसम्म अनुभव भएका डिप्लोमा तहका चिकित्सकको ५९० रुपैयाँ र त्योभन्दा बढी छ भने ६७० रुपैयाँ तथा ५ वर्षसम्मको अनुभव भएका एमडी, एमएस, एमडीएस तहका चिकित्सकको ७५० रुपैयाँ र ५ वर्ष बढी अनुभव भएको ८०० रुपैयाँ शुल्क तोकिएको छ। 

यस्तै ५ वर्षसम्मको अनुभव भएका डीएम तथा एमसीएच तहका चिकित्सकको ८८० रुपैयाँ तथा ५ वर्षभन्दा माथि अनुभव भएका एमडी तथा एमसीएच तहका चिकित्सकको ९४० रुपैयाँ र १० वर्षभन्दा माथिको अनुभव भएका एमडी, एमएस र एमडीएसका चिकित्सकको ९४० शुल्क निर्धारण गरिएको छ।

- RSS