काठमाण्डौ । पूर्ण लकडाउनको तेश्रो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि अहोरात्र खटिएका चिकित्सक र स्वास्थ्य प्राविधिकलाई सम्बोधन गर्दै ट्वीट गरेका छन् । 

ओलीले फोटोसहितको ट्वीट गर्दै चिकित्सक र स्वास्थ्य प्राविधिकहरुलाई कुनै चिन्ता नलिई उपचारमा खटिन आह्वान गरेका छन् । 

ट्वीटरमा प्रमले लेखेका छन्, ‘चिकित्सक तथा प्राविधिक साथीहरु, हाल मौज्दात सामग्रीको आधिकारिक प्रयोगबाट परीक्षण र उपचारमा सामेल होऔं, तपाईंहरुको सिफारिसका थप सामग्रीहरु उपलब्ध हुँदैछन्, धैर्य गरौं, कोभिड–१९ मानवीय संकटको एकजुट भएर सामना गरौं, सरकार तपाईंहरु सँगै छ, चिन्तित नहोऔं।’ 

कोभिड–१९ परीक्षणका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरण अभाव भएपछि सरकारले कोरोना संक्रमण जाँच्ने कीट र स्वास्थ्यकर्मीहरुका लागि आवश्यक व्यक्ति सुरक्षा सामग्री(पीपीई) चीनबाट मगाइसकेको छ । ती सामाग्री शनिवार साँझसम्म काठमाण्डौ आउने बताइएको छ । 

प्रधानमन्त्री ओलीले बुधबार पनि ट्वीट गरेका थिए । बुधबारको ट्वीटमा उनले आफूले पनि घरमै बसेर सरकार संचालन गरिरहेको भन्दै सबै नागरिकलाई घरमै बसिदिन आग्रह गरेका थिए ।