काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र चितवन अटोमोबाइल्स एसोसिएसन प्रदेश ३ सँगको सहकार्यमा कर, भन्सार तथा भीसीटीएससम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। 

कार्यक्रममा नाडाका अध्यक्ष धु्रवबहादुर थापाले आर्थिक वर्ष २०७९–८० को बजेटले सवारीसाधनको महसुलमा गरेको परिवर्तनले व्यवसायीहरुमा थप अन्यौलता आएको बताए। उनले देशमा विद्यमान तरलता अभावले व्यवसायीहरुले आफ्नो व्यवसाय सञ्चालन गर्न कठिन हुँदै गएको बताए। 

थापाले विश्वमा विद्युतीय सवारीसाधनको प्रयोग अपरिहार्य भएकोले यसलाई व्यवस्थित गर्न सरकारले आवश्यक नीतिनियमहरुको तर्जुमा गरेर थप रोजगारी सिर्जना गर्नुपर्ने बताए। उनले व्यवसायमैत्री नीतिनियम ल्याउन सरकारलाई नाडाले दबाब दिँदै आएको परिप्रेक्षमा स्वच्छ व्यवसायका लागिसमेत नाडाले आवाज उठाउँदै आएको बताए। 

कार्यक्रममा आन्तरिक राजश्व कार्यालय भरतपुरका प्रमुख घनश्याम पन्थी, वीरगञ्ज भन्सार कार्यालयका निर्देशक हरिहर पौडेल, राजश्व अनुसन्धान विभागका कम्प्युटर अधिकृत पवन बस्नेत तथा चार्टर्ड अकाउन्टेन निकेट अग्रवालले आ–आफ्नो विषयमा केन्द्रित रही प्रशिक्षण दिएका थिए। प्रशिक्षण कार्यक्रममा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेती, कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्य समिति सदस्यद्वय अनुप बराल, नीलमणि पाठक, प्रकाश कपुरी तथा सोहन श्रेष्ठसमेतको उपस्थिति थियो।