काठमाण्डौ । भरतपुरस्थित कोरोना विशेष अस्पतालमा उपचारको क्रममा मृत्यु भएका युवकमा कोरोना भाइरसको संक्रमण नभएको रिपोर्ट आएको छ । 

वीरगञ्जका ३० वर्षीय सन्तोष यादवको भरतपुरस्थित कोरोना विशेष अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको थियो । 

उनको स्वाब परीक्षणका लागि टेकुस्थित केन्द्रीय प्रयोगशाला पठाइएको थियो । प्रयोगशालाले उनमा कोरोना संक्रमण नभएको रिपोर्ट केही समयअघि दिएको कोरोना विशेष अस्पतालका एक चिकित्सकले जानकारी दिएका छन् । 

लुपस भन्ने रोगबाट उनी पीडित थिए । ज्वरो र निमोनियाको लक्षण समेत देखिएर अवस्था गम्भीर भएपछि उनलाई चितवन मेडिकल कलेजबाट कोरोना संक्रमणको आशंका गर्दै चैत ९ गते विशेष अस्पताल रेफर गरिएको थियो । १० गते स्वाब परीक्षणका लागि पठाइएको र त्यसको रिपोर्ट नेगेटिभ आएको हो ।