काठमाण्डौ । भिडिओ शेअर गर्न प्रयोग हुने एप टिकटक सञ्चालन गर्ने चिनियाँ कम्पनीले केही समयअघि म्युजिकल.ली एप किन्दा अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा पुगेको वा नपुगेको विषयमा समीक्षा भइरहेको छ।

दुई वर्षअघि बाईटड्यान्स नामक उक्त इन्टरनेट कम्पनीले एक अर्ब डलर तिरेर त्यति बेलाको लोकप्रिय भिडिओ शेअरिङ एप म्युजिकल.ली किनेको थियो। नाम उल्लेख नगरिएका स्रोतहरूलाई उद्धृत गर्दै कम्पनी खरिदबिक्री हेर्ने अमेरिकी निकायबाट स्वीकृति नलिइएको हुनाले छानबिन भइरहेको रोएटर्सले जनाएको छ।

अमेरिकाले चिनियाँ प्रविधि कम्पनीहरूका गतिविधिबारे बारम्बार आशङ्का व्यक्त गर्ने गरेको छ। अमेरिकामा वैदेशिक लगानी हेर्ने निकाय सीएफआईयूएसले म्युजिकल.ली स्वामित्व हस्तान्तरणको विषय हेर्न थालेको स्रोतहरूले रोएटर्सलाई बताएका छन्। 

बाईटड्यान्सले उक्त एप प्राप्तिका लागि सम्झौता गर्दा कुनै परीक्षण नभएकाले सीएफआईयूएसले यो विषयबारे अनुसन्धान गर्न सक्छ। उक्त निकायले गैरअमेरिकी कम्पनीहरूले अमेरिकी कम्पनीको स्वामित्व ग्रहण गर्दा त्यसबाट राष्ट्रिय सुरक्षामा प्रभाव पर्छ कि पर्दैन भनेर समीक्षा गर्ने गर्छ।

बाईटड्यान्सले म्युजिकल.ली किन्दा प्राप्त गरेको सम्पत्ति के हुन्छ भन्ने विषयमा सीएफआईयूएसको चासो रहेको रोएटर्सले जनाएको छ।

बिक्री हुनुअघि उक्त एप प्रत्येक महिना छ करोड प्रयोगकर्ताले सक्रिय रूपमा चलाउने गरेको उसको दाबी थियो। बाईटड्यान्सले रोएटर्सले प्रकाशित गरेको विवरणबारे कुनै प्रतिक्रिया दिएको छैन।

टिकटकले राजनीतिक सन्देशहरूलाई सेन्सर गर्ने गरेको र प्रयोगकर्तासँग सम्बन्धित डेटा उपयुक्त ढङ्गले नराखेको आरोप लागेपछि अमेरिकी नेताहरूले अनुसन्धान हुनुपर्ने माग राखेका थिए।
टिकटकका सामग्रीमा चीन सरकारले हस्तक्षेप गर्ने गरेको आरोपको उक्त कम्पनीले खण्डन गरेको छ। चीनको चासो हुँदैमा आफूले कुनै पनि सामग्री नमेट्ने दाबी उसको छ।

टिकटक अमेरिकी किशोरकिशोरीहरूमा लोकप्रिय छ। अमेरिकी प्रयोगकर्तामध्ये झन्डै ६० प्रतिशत व्यक्ति १६ देखि २४ वर्षका छन्।

एउटा विज्ञप्तिमा टिकटकले जारी नियामक प्रक्रियाबारे प्रतिक्रिया दिन असमर्थता व्यक्त गरेको छ। उसले प्रयोगकर्तालाई विश्वस्त बनाउनु तथा अमेरिकी निकायलाई विश्वास दिलाउनु नै आफ्नो प्राथमिकता भएको जनाएको छ। – बीबीसी नेपाली सेवा