काठमाण्डौ । स्मार्टफोनहरुको भीडमा चिनियाँ स्मार्टफोन कम्पनी साओमीका उत्पादन पनि भित्रिइने भएको छ । 
नेपालकै प्रतिष्ठित व्यापारिक समूह सारदा ग्रुपले साओमीका उत्कृष्ट उत्पादनलाई नेपाल भित्र्याउन लागेको हो । 

 

साओमी सस्तो मूल्यमा उत्कृष्ट र गुणस्तरीय स्मार्टफोन बिक्री गरी विश्वभरि नै परिचित चिनियाँ कम्पनी हो । चीनमा ठूलो बजार हिस्सा भएको साओमीले भारत र इन्डोनेशियाजस्ता ठूला बजारमा पनि आफूलाई स्थापित गरेको छ । अनलाइन सेल्स र उत्कृष्ट बजार नीतिका कारण साओमीले प्रतिस्पर्धी स्मार्टफोन कम्पनीहरुलाई चुनौती दिइरहेको छ । स्थापनाको छोटो समयमै चर्चित बनेको साओमी बिश्वकै मूल्यवान स्टार्टअप कम्पनीमध्ये पर्दछ । एन्ड्रोइड फोन उत्पादन गर्ने साओमीले सस्तो मूल्यमा उत्कृष्ट स्मार्टफोन बजारमा उपलब्ध गराएर प्रतिस्पर्धी सामसुङ र एप्पललाई समेत निकै राम्रो टक्कर दिइसकेको छ । 
 

सारदा ग्रुपका निर्देशक गौरव सारदाले आफूहरुको ग्रुपलाई साओमीले नेपालका लागि आधिकारिक वितरक तोकेको र शारदा ग्रुप अन्तर्गतको वत्सल इम्पेक्सले साओमी मोवाइलको बजारीकरण गर्ने बताए । उनका अनुसार मार्च महिनाभित्रमा नेपाली बजारमा साओमी लञ्च गरिसक्ने योजनाका साथ काम अगाडि बढिरहेको छ । 
 

शारदा ग्रुपले साओमीको नेपालभर डिलर बन्न इच्छुक कम्पनीहरुलाई सञ्जालमा जोडिनका लागि आह्वान समेत गरिसकेको छ ।