काठमाण्डौ । अहिले काठमाण्डौ उपत्यकामा कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्राको डोज लगाउने अभियान चलिरहेको छ। 

काठमाण्डौमा गत जेठ २ गतेदेखि भक्तपुर र ललितपुरमा जेठ ६ गतेदेखि दोस्रो डोज लगाउने अभियान चलिरहेको रहेको हो। उपत्यकामा गत वैशाख १६ गते निषेधाज्ञा जारी हुनुअघि पहिलो डोजको अभियान चलेको थियो। निषेधाज्ञा जारीसँगै केहीले उपत्यका छाडेर घर फर्किएका छन्। 

यसैबीच त्यस्ता व्यक्तिलाई लक्षित गरी स्वास्थ्य मन्त्रालयले दोस्रो डोज लगाउने व्यवस्था गर्ने भएको छ। 

दोस्रो डोज लगाउन उपत्यकामा नभएका व्यक्तिले तत्काल स्थानीय तहमा नाम टिपाउन मन्त्रालयले अनुरोध गरेको छ । भेरोसेलको खोपको दोस्रो मात्रा लगाउनुपर्ने काठमाण्डौबाहिर रहेका व्यक्तिहरुले आफ्नो स्थानीय तहका स्वास्थ्य संयोजकमार्फत जिल्ला स्वस्थ्य कार्यालयहरूमा नाम र विवरण टिपाउन मन्त्रालयले आग्रह गरेको हो। 

दोस्रो मात्रा खोप लगाउनेहरुको विविरणसहितको सूची तयार भएपछि प्रदेशको समन्वयमा खोप लगाउने मिति र स्थान तोकिने मन्त्रालयले जनाएको छ। निषेधाज्ञाको समयमा अनावश्यक रुपमा पास खोज्दै हिँडडुल नगर्नसमेत मन्त्रालयले आग्रह गरेको छ। 

भेरोसेल खोपको पहिलो डोज लगाएको ८ देखि १२ हप्तामा दोस्रो डोज लगाउनुपर्छ। यो खोपको पहिलो डोज करिब २ लाख ९० हजार जनाले लगाएका थिए।