काठमाण्डौ । चिलिमे हाइड्रोपावर कम्पनीको नाफा घटेको छ । यो जलविद्युत कम्पनीले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा ५२ करोड ४६ लाख खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको नाफा ५४ करोड ८१ लाख रुपैयाँ रहेको थियो । 

आइतबार प्रकाशित अपरिस्कृत वित्तीय विवरणअनुसार चिलिमेले बिजुली बेचेर ६३ करोड २१ लाख आम्दानी गरेको छ । अघिल्लो वर्ष यसतो आम्दानी ६५ करोड ४२ लाख रहेको थियो । 

हाल यो कम्पनीको चुक्तापूँजी ३ अर्ब ९६ करोड रुपैयाँ रहेको छ भने रिजर्बमा ४ अर्ब ५६ करोड रहेको छ । 

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २६.४७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २१५.२३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३६.०५ गुणा कायम भएको छ ।  

यस्तै, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमीटेडको खूद नाफा झनै घटेको छ । दोश्रो त्रैमासमा यो कम्पनीको खूद नाफा १ करोड ७२ लाख भएको हो । अघिल्लो वर्षको यही अवधिमा यस्तो नाफा २ करोड ५५ लाखको उचाईमा थियो । 

समीक्षा अवधिमा अरुण भ्यालीले बिजुली बेचेर २ करोड ३३ लाख आम्दानी गरेको छ, जबकि अघिल्लो वर्षको यही अवधिमा यस्तो आम्दानी २ करोड ८४ लाख रहेको थियो । 
समीक्षा अवधिमा यो कम्पनीको प्रतिसेयर आम्दानी ३.६५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०२.३० रुपैयाँ र मूल्य आम्दानी अनुपात ५५.०२ गुणा कायम भएको छ । 

उता, बुटवल पावर कम्पनीले भने चालु आर्थिक वर्षको छ महिनामा ५९ करोड ९२ लाख रुपैयाँ नाफा गरेको छ। गत वर्षको यही अवधिमा १३ करोड ९ लाख रुपैयाँ थियो। 

कम्पनीले विद्युत विक्रीबाट ४० करोड ९८ लाख रुपैयाँ आम्दानी गरेको छ। गत वर्ष यही अवधिमा ४० करोड २४ लाख रुपैयाँ थियो। कम्पनीले छ महिनामा ब्याज आम्दानीबाट ४९ करोड ६० लाख रुपैयाँ आर्जन गरेको छ।

कम्पनीको चुक्ता पूँजी एक अर्ब ८१ करोड रुपैयाँ छ भने जगेडा कोषमा दुई अर्ब ८६ करोड रुपैयाँ जम्मा भएको छ। कम्पनीको दीर्घकालीन ऋण ५० करोड ६८ लाख रुपैयाँ रहेको छ। त्यस्तै कम्पनीको प्रतिशेयर आम्दानी ३३ रुपैयाँ छ।