काठमाण्डौ । दुई वर्षपछि विश्वले कोरोनाभाइरसको महामारीबाट राहत पाउन थालेपछि चीनको एउटा निर्णयले कोभिड–१९ को नयाँ भेरिएन्टको जोखिम बढेको छ। 

आउँदो जनवरी ८ देखि चीनले सबै यात्रा प्रतिबन्ध हटाउने निर्णय गरेको छ। यो निर्णयले विश्वमा अंग्रेजी नयाँ वर्षमा फेरि कोरोनाको विस्फोट हुन सक्ने अनुमान गरिएको छ। 

जिरो कोभिड चिनियाँ राष्ट्रपति सी जिनपिङको सबैभन्दा कडा नीति थियो। तीन वर्षसम्म जारी रहेको यो नीतिविरुद्धमा चीनमा ठूलो प्रदर्शन भएको थियो। यी प्रदर्शनपछि नीति खारेज भएको थियो। 

अब नयाँ वर्षमा चिनियाँ नागरिकले घुम्न र घर फर्किने तयारी गरिरहेका छन्। सन् २०२३ को सुरुमा करिब ३ अर्ब मानिस विदेश भ्रमण गर्ने तयारी छ।

चीनमा कोभिडका केसहरु तीव्रगतिमा बढ्दै गएका छन्। यसबीच बेलायतले चीनबाट आउने पर्यटकमा नयाँ प्रतिबन्ध लगाउने तयारी गरिएको छ। 

चिनियाँ अधिकारीहरुले दैनिक आउने केसको तथ्यांक सार्वजनिक गर्न रोकेका छन्। चीनमा कोभिडका कारण दैनिक ५ हजार मानिसको ज्यान गरिरहेको अनुमान गरिएको छ। अस्पतालमा बिरामी राख्ने ठाउँ छैन र शवदाहगृह बाहिर शवको थुप्रो छ। 

चीनका विभिन्न कलकारखानामा काम गर्ने मजदुरहरु यसपटक नयाँ वर्षका अवसरमा आ–आफ्नो परिवारसँग विदेश भ्रमणमा जाने तयारीमा छन्। चिनियाँ नागरिक हरेक वर्ष विमान, रेल, जहाज र कारबाट आफ्नो घर जान्छन्। चीनबाहेक विश्वका विभिन्न ठाउँमा जान्छन्।

जनवरी ८ बाट मानिसहरु चीन छोड्न थाल्नेछन् र यसलाई विश्वको सबैभन्दा ठूलो मानव अध्यागमनका रुपमा वर्णन गरिएको छ। कम्तीमा ४० दिनसम्म यात्राका लागि संघर्ष जारी रहने सम्भावना रहेको चीनको यातायात मन्त्रालयले जनाएको छ। त्यसपछि यात्राको अवस्था प्रि–महामारीको स्तरमा फर्किने विश्वास गरिएको छ। 

सन् २०२० मा जनवरी २१ देखि मार्च १ सम्म करिब ३ अर्ब मानिसले विदेश यात्रा गरेका थिए। चिनियाँ स्वास्थ्य अधिकारीहरुका अनुसार कोभिड–१९ को ओमिक्रोन भेरिएन्ट अहिलेसम्म सक्रिय नै रहेको छ। 

यसैबीच वैज्ञानिकहरुले चिनियाँ नागरिकहरू घुम्न बाहिर निस्कनेबित्तिकै कोभिडको नयाँ संस्करण भेरिएन्ट फैलिन सक्ने चेतावनी दिएका छन्। 

चीनमा लामो समयदेखि लकडाउन थियो। यसको मतलब यो हो कि नयाँ भेरिएन्टबाट धेरै चिनियाँ नागरिक संक्रमित छैनन्। योसँगै यो भाइरसको प्रतिरोधात्मक क्षमता पनि निकै कम छ। 

वासिंगटन विश्वविद्यालयको क्लिनिकल इपिडिमियोलोजी केन्द्रका निर्देशक जियाद अल–अलीका अनुसार चिनियाँ नयाँ वर्षमा कोभिड केसहरुको विस्फोटको सम्भावना छ किनकि नयाँ उत्परिवर्तनको जोखिम धेरै छ। नयाँ वर्षको बिदामा चिनियाँ नागरिक जापान, थाइल्यान्ड, दक्षिण कोरिया, अमेरिका, बेलायत र अस्ट्रेलिया जाने तयारीमा छन्। –एजेन्सी