काठमाण्डौ । चीनका स्वास्थ्य विशेषज्ञहरुले विदेशबाट आइरहेका नागरिकका कारण चीन–रुसको सीमास्थित सुइफिने सहर नयाँ वुहान बन्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

यो सहरमा रुसबाट प्रवेश गर्ने अधिकांश चिनियाँ नागरिकमा कोरोना संक्रमण पाइन थालेपछि चिनियाँ स्वास्थ्य विशेषज्ञहरुले यस्तो चिन्ता जाहेर गरेका हुन्। चीनमा विदेशबाट आएका संक्रमितको संख्या १ हजार ५०० पुगेको छ। 

राष्ट्रिय स्वास्थ्य आयोगले मंगलबार ५७ अरु यस्ता बिरामीको सूची जारी गरेको जो संक्रमित त हुन् तर लक्षण भने देखिएन। चीनमा लक्षण नदेखिए पनि कोरोना पोजेटिभ देखिने संख्या १ हजार २३ पुगिसकेको छ। 

हुबेई प्रान्तमा कोरोनाबाट पहिलोपटक एक व्यक्तिको ज्यान गएको घटनापछि हालसम्म चीनमा ३ हजार ३४२ जनाको ज्यान गइसकेको छ। चीनमा हालसम्म ८२ हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने करिब ७८ हजार बिरामी ठिक भएका छन्। 

हेलोनजियाङ प्रान्तको सुइफिने सहरमा रुसबाट आएका चिनियाँ नागरिकहरुमा भटाभट कोरोना संक्रमण देखिन थालेपछि स्वास्थ्य विशेषज्ञहरुले चिन्ता व्यक्त गरेका हुन्। करिब ७० हजार जनसंख्या रहेको यो सहरमा आयातीत संक्रमितको संख्या ७९ पुगिसकेको छ। 

संक्रमितको संख्या दिनानुदिन बढ्न थालेपछि सुइफिने बन्दरगाह बन्द गरिएको छ। हेलोनजियाङ प्रशासनका एक शोधकर्ता हाओ जुनका अनुसार यो बन्दगाह भएर ३६६ जना आएकोमा धेरैजसो रुसको मस्कोमै संक्रमित भएर फर्किएका थिए। ‘तीमध्ये धेरैजसो रुसबाट फर्किएर लामो समयसम्म अन्य व्यक्तिको सम्पर्कमा रहेका छन्’, जुनले भने, ‘जसका कारण संक्रमण फैलिने खतरा झनै बढेको छ।’ 

चीनको सरकारी समाचारपत्र ग्लोबल टाइम्सका अनुसार सुइफिने सहरमा हालै प्रवेश गरेका १ हजार ४७९ जनालाई क्वारेन्टाइनमा राखिएको छ। क्वारेन्टाइनमा राखिएकामध्ये करिब २० प्रतिशत कोरोना संक्रमित हुन सक्ने अनुमान गरिएको उक्त समाचारपत्रले जनाएको छ। – एजेन्सी