काठमाण्डौ । कोरोना भाइरस प्रकोप पुनः फैलिन थालेपछि स्थानीय प्रशासनले लकडाउन घोषणा गरेसँगै चीनको हेनान टापूपको लोकप्रिय रिसोर्ट सहर सान्यामा करिब ८० हजार पर्यटक फसेका छन्। 

सिएनएनका अनुसार पछिल्लो समय सो टापू र सहरमा कोरोना भाइरस तीव्रताका साथ फैलिरहेको छ । सम्भावित क्षतिलाई रोक्न स्थानीय प्रशासनले लकडाउनका कडा उपायहरुको घोषणा गरेको छ । जसका कारण त्यहाँ घुम्न पुगेका संसारभरका ८० हजार पर्यटक अलपत्र परेका हुन् । 

यो क्षेत्रमा सार्वजनिक यातायात एकाएक बन्द गरिएको छ । यस्तै शहर भित्र मानिसहरूको आवागमनमा शनिबार बिहानैदेखि पूर्ण प्रतिबन्ध लागेको छ । 

अलपत्र परी यहाँ फसेका पर्यटकहरूले अब सात दिन बस्नुपर्छ र शहर छाड्नुअघि कोभिड १९ का ५ वटा परीक्षणहरु पार गर्नुपर्नेछ । 

सो शहरका उपमेयर हे शिगाङले शुक्रबार करिब ८० हजार पर्यटक सहरमा फसेका बताए । हाल सान्यामा रहेका सबै र जुलाई २३ देखि सहर आएका मानिसहरूलाई शनिबार स्थानीय समयअनुसार बेलुका ६ बजेपछि होनान प्रान्तबाट बाहिर निस्कन अनुमति नदिइएको प्रान्तीय अधिकारीहरूले बताएका छन्।

कोभिड १९ का कारण प्रतिबन्ध लागेको यो टापू चीनको प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक हो । यहाँका बलौटे समुन्द्र तटहरु, घना जंगलहरुमा रमाउन वर्षेनी लाखौं पर्यटक त्यहाँ पुग्ने गर्छन् । 

उडान ट्रयाकिङ गर्ने कम्पनी भेरीफ्लाईको तथ्याङ्कअनुसार शनिवार सान्याबाट हुने ८० प्रतिशत उडानहरु रद्ध गरिएको थियो । यस्तै, यहाँबाट प्रस्थान गर्ने सबै रेलहरु समेत रद्ध गरियो । 

यो टापुको दक्षिणी छेउमा रहेको सहरमा अगस्ट १ देखि शनिबार मध्यरातको बीचमा ८२७ कोभिड संक्रमितको पहिचान भएको थियो । शनिबारको संख्याले चीनमा प्रकोप ह्वात्तै बढ्नसक्ने देखाएको विश्लेषकहरुलाई उद्धृत गर्दै एजेन्सीहरुले दाबी गरेका छन् ।