काठमाण्डौ । चीनमा कोरोनाविरुद्धको भ्याक्सिन ट्रायल पूरा नहुँदै मानिसमा लगाउन सुरु गरिएको खुलासा भएको छ।

चीनका एक वरिष्ठ स्वास्थ्य अधिकारीका अनुसार चीन सरकारले केही क्षेत्र छनोट गरी त्यहाँ बसोबास गर्नेहरुलाई गत जुलाईबाटै भ्याक्सिन लगाउन सुरु गरेको हो। यद्यपि उक्त भ्याक्सिनको ट्रायल पूरा नभएका कारण आधिकारिकता प्राप्त गर्न सकेको छैन। 

राष्ट्रिय स्वास्थ्य आयोगमा विज्ञान तथा प्रविधि केन्द्रका प्रमुख चेङ चोङ्गेईले सरकारी मिडियासँगको कुराकानीमा सरकारले अहिले उक्त भ्याक्सिन स्वास्थ्यकर्मी र सीमा तैनाथ सुरक्षा अधिकारीहरुलाई आपतकालीन प्रयोगका रुपमा लगाउन सुरु गरेको बताएका छन्।

चेङ भ्याक्सिन विकास गरिरहेको टास्क फोर्सको नेतृत्व पनि गरिरहेका छन्। 

चीनमा क्लिनिकल ट्रायल चलिरहेकै अवस्थामा भ्याक्सिन लगाउन सुरु गरिएको खुलासा भए पनि हालसम्म कतिजनालाई लगाइयो र कुन भ्याक्सिन लगाउने काम भइरहेको भन्ने खुलेको छैन । चेङ भने पूर्ण रुपमा कानुनको पालना गर्दै भ्याक्सिन लगाउन थालिएको दाबी गर्छन् । उनी भन्छन्, ‘चीनमा स्वास्थ्य संकटलाई ध्यानमा राखेर गैरप्रमाणित भ्याक्सिनको सीमित उपयोगको अनुमति दिइएको छ।’

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) विश्वभर १७० सम्भावित भ्याक्सिन विकासको काम भइरहेको बताउँछ । चीनमा पनि थुप्रै भ्याक्सिनको तेस्रो चरणको परीक्षणका क्रममा रहेका छन्। तेस्रो चरणको क्लिनिकल ट्रायलमा हजारौँ मानिसलाई भ्याक्सिन दिएर सुरक्षा र प्रभावकारिताको परीक्षण गरिन्छ ।

सरकारी कम्पनी चाइना नेसनल बायोटेक गु्रपको भ्याक्सिनको तेस्रो चरणको मानिसमा हुने परीक्षणका लागि हाल यूएई, बहराइन, पेरु, मोरक्को र अर्जेन्टिनामा अनुमति पाएको छ। कम्पनीले यी देशमा हुने परीक्षणमा २० हजार मानिस सहभागी हुने दाबी गरेको छ। 

चीनकै अन्य कम्पनी सिनोभ्याक र क्यानसिनो बायोलोजिक्सले पनि रुस, इन्डोनेसिया र ब्राजिलमा भ्याक्सिनको परीक्षण गरिरहेका छन् । – एजेन्सी