काठमाण्डौ । चीनले डिजिटल मुद्रा क्रिप्टोकरेन्सीहरुको कारोबारमा प्रतिबन्ध लगाएको छ। 

बैंक र भुक्तानी सेवाहरूलाई क्रिप्टोकरेन्सीहरुको कारोबार रोक्न चीन सरकारले निर्देशन दिएको छ। गत शुक्रवार चीनले सिचुवान प्रान्तमा भइरहेको बिटक्वाइनको माइनिङ कार्यलाई रोक्न आदेश दिएपछि यो नयाँ निर्देशन दिइएको हो।

गत सोमबार बिटक्वाइनको मूल्य १० प्रतिशतले घटेको थियो। मंगलबार भने बिटक्वाइनको मूल्य स्थिर रह्यो।  गत अप्रिलमा प्रतिबिटक्वाइन ६३ हजार अमेरिकी डलर पुगेकोमा अहिले घटेर झन्डै आधा भएको छ।

केन्द्रीय पिपल्स बैंक अफ चाइनाले हालै मुख्य बैंक र भुक्तानी  सेवाहरूलाई बोलाएर क्रिप्टोकरेन्सीको कारोबारमा कडाइ गर्न निर्देशन दिएको छ। एग्रिकल्चरल बैंक अफ चाइनाले केन्द्रीय बैंकको निर्देशन पालना गर्दै क्रिप्टोकरेन्सी माइनिङ र कारोबारजस्ता गतिविधिलाई रोक्न सबै ग्राहकको खाताको परीक्षण गर्ने जनाएको छ। पोस्टल सेभिङ बैंकले पनि किप्टोकरेन्सी कारोबार नगर्ने जनाएको छ। 

मोबाइल र अनलाइन भुक्तानी सेवा अलिपेले क्रिप्टोकरेन्सी कारोबार रोक्न निरीक्षण प्रणाली विकास गर्ने जनाएको छ। 

गत वर्ष विश्वभरि उत्पादन भएको ६५ प्रतिशत बिटक्वाइन चीनमा माइनिङ गरिएको थियो।

केम्ब्रिज विश्वविद्यालयको अध्ययनले सिचुवान प्रान्त दोस्रो सबैभन्दा बढी बिटक्वाइन माइनिङ हुने स्थान भएको देखाएको थियो।
बिटक्वाइन माइनिङमा कम्प्युटरको धेरै प्रशोधन शक्ति र ऊर्जा आवश्यक पर्छ। गत महिना चीनको मन्त्रिपरिषद् स्टेट काउन्सिलले वित्तीय जोखिम नियन्त्रण गर्ने अभियानअन्तर्गत क्रिप्टोकरेन्सी कारोबार रोक्ने जनाएको थियो। –बीबीसीबाट