काठमाण्डौ । विद्युत तथा ऊर्जा संकटका कारण चीनको आर्थिक वृद्धिदरमा गिरावट आउने प्रक्षेपण गरिएको छ।

मल्टिनेसनल इन्भेस्टमेन्ट बैंक गोल्डम्यान स्याच्सले चीनको आर्थिक वृद्धिदर ८.२ प्रतिशतबाट घटेर ७.८ प्रतिशतमा झर्ने अनुमान गरेको हो। बैंकले चीनमा जारी ऊर्जा संकटको भारी असर उद्योगहरुमा पर्ने जनाएको छ। 

बैंकले विश्वको दोस्रो सबैभन्दा ठूलो अर्थव्यवस्था भएको चीनका लगभग ४४ प्रतिशत उद्योग तथा कारखाना प्रभावित हुने पनि अनुमान गरेको छ। 

चीनको पूर्वोत्तर इलाकाहरुमा कोइलाको आपूर्ति घट्दा ऊर्जा संकट बढ्दै गएको छ। आपूर्ति घट्न थालेपछि कोइलाको भाउ पनि आकासिन थालेको छ। 

कोइलाको आपूर्ति कम भएकै कारण कतिपय कारखाना तथा घरहरुमा विद्युत वितरण ठप्प भएको छ। जसका कारण दैनिक कामकाज अवरुद्ध बनेका छन्।

चीनमा विद्युत वितरणमा असर परेपछि अधिकांश उत्पादनमूलक काराखानाहरुको उत्पादनमा कमी आउनुका साथै कतिपय बन्द हुन पुगेका छन्। – एजेन्सी