काठमाण्डौ । चीनमा कोभिड लकडाउनको कडा नियमविरुद्ध आमजनता प्रदर्शनमा उत्रिएका छन्। विरोध प्रदर्शनका भिडियोहरु यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।

लकडाउनबीच चीनको उरुम्ची सहरमा बिहीबार एउटा अपार्टमेन्ट ब्लकमा आगलागी भएको थियो। आगलागीमा १० जनाको मृत्यु भएपछि जनता प्रदर्शनमा उत्रिएका थिए। 

कोभिड नियन्त्रण गर्न लागू गरिएको कडा नियमका कारण मानिसले आगलागीबाट आफ्नो ज्यान जोगाउन नसकेको स्थानीयको गुनासो छ।

सामाजिक सञ्जालहरुमा भाइरहल भइरहेका भिडियोहरुमा चीनको उरुम्चीमा सुरक्षाकर्मीसँग मानिसहरु लडिरहेका देखिएका छन्। ती मानिसहरु नारा लगाइरहेका थिए, ‘लकडाउन अन्त्य गर।’

चीनमा कडा शून्य कोभिड नीति लागू भए पनि त्यहाँ फेरि एकपटक कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ।

उरुम्की प्रशासनले अब बिस्तारै प्रतिबन्ध कम गर्ने जनाएको छ। यद्यपि प्रशासनले लकडाउनको नियमका कारण आगलागीबाट जनता बच्न नसकेको आरोपलाई अस्वीकार गर्दै आएको छ।

पश्चिमी सिन्जियाङ क्षेत्रको राजधानी उरुम्चीमा कोभिडका कारण अगस्टको सुरुदेखि नै कडा प्रतिबन्ध लगाइएको छ। बिहीबारको दुर्घटनापछि भवनका एक बासिन्दाले भने, ‘जुन कम्पाउन्डमा आगो लागेको थियो, त्यहाँ बस्ने मानिसहरुलाई कडा लकडाउन नियमका कारण घरबाट बाहिर निस्कन रोकिएको थियो।’ –एजेन्सी