काठमाण्डौ । आर्थिक मन्दीको डरबीच चीनले यसपालि ढिलोगरी आफ्नो कुल गार्हस्थ उत्पादन (जीडीपी) को तथ्यांक सार्वजनिक गर्ने भएको छ। 

चीन जीडीपीको तथ्यांकबाहेक अर्थतन्त्रसँग सम्बन्धित अन्य सूचकहरुको तथ्यांक पनि यसपालि ढिलो सार्वजनिक गर्ने भएको छ। चीनको नेसनल ब्युरो अफ स्ट्याटिस्टिक्सले आर्थिक तथ्यांक सार्वजनिक गर्ने मिति तत्कालका लागि सारिएको जनाएको छ। यद्यपि यसो गरिनुको कारणबारे आधिकारिक रुपमा जानकारी गराइएको छैन। 

सत्तारुढ कम्युनिष्ट पार्टीका सबै दिग्गज नेताहरु पाँचवर्षे सम्मेलनका लागि भेला भइरहेका बेला चीनले जीडीपीको तथ्यांक सार्वजनिक नगर्ने निर्णय गरेको हो । सम्मेलनका क्रममा सी जिनपिङ लगातार तेस्रोपटक चीनको राष्ट्रपतिमा निर्वाचित हुन लागेका छन्। 

चीनले आज अर्थात् १८ अक्टोबरमा आफ्नो जीडीपीको तथ्यांक सार्वजनिक गर्न लागेको थियो। तर, हिजो चीनको राष्ट्रिय तथ्यांक ब्युरोले आज (अक्टोबर १८) मा तथ्यांकहरु जारी नगर्ने जानकारी गराएको थियो। 

आर्थिक विज्ञहरुले सेप्टेम्बरको त्रैमासिकमा चीनको जीडीपी वृद्धि कमजोर हुने अपेक्षा गरेका थिए। यो पछिल्लो दुई वर्षको सबैभन्दा खराब प्रदर्शन पनि हुनसक्ने विज्ञहरुको अनुमान छ। 

चीनले कोभिडसँग लड्नका लागि आफ्ना धेरै सहरमा कडा तालाबन्दी लगाएको छ। यसका साथै घरजग्गा बजारको संकटले चिनियाँ अर्थतन्त्रलाई नराम्ररी असर गरेको थियो।

चीनको स्ट्यान्डर्ड बैंक ग्रुप लिमिटेडका प्रमुख अर्थशास्त्री जेरेमी स्टिभेन्सले डाटा रिलिज स्थगित गर्नु राम्रो संकेत नभएको बताए। किनकि विश्वभरका लगानीकर्ताले चीनको त्रैमासिक तथ्यांकलाई नजिकबाट हेर्छन्।

चीनको राष्ट्रिय तथ्यांक ब्युरोका एक अधिकारीले कम्युनिस्ट पार्टीको अधिवेशनका कारण तथ्यांकहरु जारी नगरिएको मिडियासँग बताएका छन्। सम्मेलनको कार्यव्यवस्था र समायोजनका कारण यो परिवर्तन भएको हो।

ब्लुमबर्गको सर्वेक्षणअनुसार अर्थशास्त्रीहरुले अप्रिल–जुन अवधिमा लगभग शून्य वृद्धिपछि तेस्रो त्रैमासिकमा चीनको जीडीपी ३.३ प्रतिशतले वृद्धि हुने अपेक्षा गरेका छन्। यद्यपि, यो वृद्धिदर अझै पनि चीनका लागि कम हुनेछ। यी तथ्यांकहरुले चीनको अर्थतन्त्रमा कोरोनाको प्रभाव देखाउँछन्। 

चीनले यो महामारीसँग लड्न कडा प्रतिबन्ध लगाएको थियो। यसका साथै यी तथ्यांकहरुले हालको इतिहासमा सबैभन्दा ठूलो मन्दी दर्शाउँछ। 

रोयटर्सका अनुसार हङकङको जोन्स लाङ लासेलका मुख्य अर्थशास्त्री ब्रुस प्याङ भन्छन्, ‘अंक जारी गर्नमा ढिलाइ कमजोर आर्थिक सुधारका कारण होइन तर हाल चीनमा भइरहेको कम्युनिस्ट पार्टीको महाधिवेशनले गर्दा भएको हो।’

यस सम्मेलनमा सञ्चारमाध्यम र जनताको ध्यान केन्द्रित होस् भन्ने अधिकारीहरू चाहन्छन्।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले यस वर्ष जीडीपी वृद्धिदर ५.५ प्रतिशतको लक्ष्य राखेको छ। तर, यो लक्ष्य हासिल गर्न चीनले धेरै कठिनाइहरुको सामना गर्नुपर्ने धेरै अर्थविदहरु बताउँछन्। 

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२२ र २०२३ का लागि चीनको जीडीपी वृद्धिलाई ३.२ प्रतिशत र ४.४ प्रतिशतमा झारेको छ।