काठमाण्डौ । कोरोनाभाइरसबाट अतिप्रभावित अमेरिकाको न्युयोर्क राज्यका लागि चीनले १ हजार थान भेन्टिलेटर पठाउने भएको छ।

न्यूयोर्क राज्यका गभर्नर एन्ड्रु कुमोले चीन सरकारले कोरोनाभाइरसबाट ठूलो संकटको सामना गरिरहेको न्यूर्याकका लागि १ हजार थान भेन्टिलेटर पठाउन लागेको बताएका हुन्। कुमोले संकटको यस समयमा चीन सरकारको सदासयताका लागि धन्यवाद दिँदै चीनले प्रदान गर्न लागेका भेन्टिलेटर शनिबार नै अमेरिकाको केनेडी विमानस्थलमा आइपुग्ने जानकारी दिए। 

अमेरिकाका विभिन्न राज्यमा कोरोनाभाइरसको संक्रमण रहेको भन्दै अमेरिकामै यी सामान तत्काल प्राप्त गर्न कठिनाई भएको पनि कुमोले बताए । “हामी सबै एउटै युद्धमा छौं । सबैले भाइरसको प्रसार रोक्ने एकमात्र उद्देश्य राखेका छौं”, कुमोले भने। उनले ओरेगन राज्यले पनि न्यूयोर्कका लागि १४० थान भेन्टिलेटर पठाउने वचन दिएको बताए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतिपय राज्यलाई तत्काल स्वास्थ्य सामग्री आवश्यक नभए पनि ठूलो संख्यामा माग भइरहेको भन्दै दुःख प्रकट गरेका थिए। उनले चीनबाट भेन्टिलेटर मगाउन आफूले नै पहिलो प्रयास गरेको जानकारी दिए।

न्यूयोर्कका गभर्नर कुमो र आफूबीच कुनै पनि विषयमा मतान्तर नरहेको पनि राष्ट्रपति ट्रम्पले स्पष्ट गरे।

यसैगरी म्यासाचुसेट्स राज्यले पनि चीनबाट दशलाख मास्क ल्याउनुका साथै रसियाले पनि चिकित्सा उपकरण अमेरिका पठाएको छ। – एजेन्सी