काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीले चीनका लागि नवनियुक्त राजदूत विष्णुपुकार श्रेष्ठसँग  आज भेटवार्ता गरेको छ। 

श्रेष्ठसँग भएको भेटबार्ताका क्रममा नेपाल चीन व्यापार सहजीकरण गर्ने विषयमा छलफल भएको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ। चीनका लागि नवनियुक्त राजदूत श्रेष्ठसँग चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले दुई मुलुकबीच भन्सार सहजीकरणमार्फत नेपालको निर्यात बढाउनुपर्नेमा जोड दिए। 

नेपालबाट कृषि, हस्तकलाका सामान, मूर्तिजन्य वस्तुहरुको निर्यात प्रवर्द्धनका लागि भन्सारमा उच्चस्तरीय प्रयोगशाला निर्माण गर्नुपर्ने बताए। ग्वाङझाउ तथा ल्हासास्थित महावाणिज्य दूतावासलाई नेपाल चीन व्यापार सहजीकरणको लागि क्रियाशील बनाउनुपर्ने अध्यक्ष मल्लले बताए। 

नेपाल चीनवीच केरुङ भएर हुन व्यापारमा अनावश्यक खर्चहरु आयातकर्ताले व्यहोर्नु परेकोले व्यावसायिक लागत अत्यधिक रुपले वढन गएकोप्रति अध्यक्ष मल्लले राजदूत श्रेष्ठको ध्यानाकर्षण गराए। सीमा नाकामा हुने अनावश्यक खर्चलाइ हटाउन र भन्सार तथा परिवहन प्रकृयालाइ सहज गर्न पनि उनले आग्रह गरे। 

चिनियाँ नागरिकहरुको विश्व भ्रमण गर्ने प्रवृत्ति बढ्दै गइरहेको सन्दर्भमा त्यसको फाइदा नेपालले पनि लिन सक्नुपर्ने अध्यक्ष मल्लको भनाइ थियो। 

नेपालको पूर्वाधार विकासमा चिनियाँ लगानी भित्र्याउन पहल गर्नसमेत मल्लले राजदूत श्रेष्ठलाई आग्रह गरे। 

नेपालको कृषि उत्पादकत्व वृद्धि गर्न प्रबिधि हस्तान्तरणको लागि पहल गर्न पनि मल्लले जोड दिए। 

नवनियुक्त राजदूत श्रेष्ठले आफ्नो कार्यकालमा दुई मुलुकबीचको आर्थिक र कूटनीतिक सम्बन्धलाई उच्चस्तरमा पुर्याउन आफूले अधिकतम पहल गर्ने बताए। भन्सारमा व्यापार सहजीकरण गरी नेपालमा उत्पादित वस्तुहरुको निर्यातका लागि पहल गर्ने श्रेष्ठले बताए।