काठमाण्डौ । चीनमा जनतालाई कोरोनाविरुद्धको भ्याक्सिनको १ अर्बभन्दा बढी डोज दिइएको छ। 

चीनको नेसनल हेल्थ कसिमन (एनएचसी) को तथ्यांकअनुसार शनिबारसम्म चीनमा कोरोनाविरुद्धको भ्याक्सिनको १ अर्ब १ करोड ४ लाख ८९ हजार डोज लगाइएको हो। पछिल्लो ६ दिनमा मात्रै चीनमा १० करोड बढी डोज लगाइएको एनएचसीले जनाएको छ। 

हालसम्म कतिजनालाई भ्याक्सिनको पूर्ण डोज दिइयो भन्नेबारे भने चीन सरकारले कुनै पनि जानकारी उपलब्ध गराएको छैन। तर चीनका शीर्ष स्वास्थ्य विज्ञ तथा एनएचसीका सदस्य जोङ नानसनले गत मार्च महिनामा जुनको अन्तिमसम्म करिब ४० प्रतिशत जनसंख्यालाई पूर्ण रुपमा खोप लगाइने बताएका थिए। 

चीनमा सन् २०१९ मा कोरोनाको महामारी देखिएपश्चात त्यहाँका अधिकारीले यसलाई तीव्र रुपमा नियन्त्रण गर्दै आर्थिक पुनरुत्थानका साथ आमजनजीवनलाई सामान्यीकरण गर्न सफल भएका छन्। मानिसहरुले कोरोनाको खोपको आवश्यकता महसुस नगरेका कारण यो वर्षको सुरुआततिर चीनमा खोप अभियान सुस्त बनेको थियो। तर अहिले अभियानले पुनः तीव्रता पाएको छ। 

१० करोड डोजबाट २० करोड डोज पुर्याउन जम्मा २५ दिनमात्रै र ८० करोड डोजबाट ९० करोड डोज ६ दिन मात्रै लागेको चीनको सरकारी मिडिया सिन्ह्वाले जनाएको छ। 

यद्यपि चीनमा गत वर्षदेखि कोरोनाको नयाँ मामिलाहरु देखिँदै आएका छन्। गत मे महिनादेखि देशको मुख्य सहर गोन्जाउ डेल्टा भेरियन्टसँग जुधिरहेको छ। यो भेरियन्ट सर्वप्रथम भारतमा देखा परेको थियो। यो भेरियन्ट चीनमा पहिलोपटक स्थानीयस्तरमा फैलिएको थियो। 

व्यापक परीक्षण र लकडाउनका कारण आइतबार यो भेरियन्टका शून्य केसहरु देखिएका छन्। 

विश्व स्वास्थ्य संगठनले चीनको सिनोफार्मलाई गत मे र सिनोभ्याकलाई गत जुन महिनादेखि आपतकालिन प्रयोगका लागि अनुमति दिएको छ। 

अहिले चीनले ब्राजिल, युएई र मलेसिया सहित विश्वभर कोरोनाविरुद्धको खोप निर्यात गरिरहेको छ। तर अमेरिका र युरोपेलि स्वास्थ्य अधिकारीहरुले भने अहिलेसम्म चीनमा निर्मित भ्याक्सिनलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएका छैनन्। 

चीनमा निर्मित भ्याक्सिनको प्रभावकारीतालाई लिएर प्रश्न उठ्ने गरेको छ। चीनका भ्याक्सिनहरुको प्रभावकारिता दर फाइजर–बायोएन टेक र मोर्डनाद्वारा विकसित भ्याक्सिनका तुलनामा कम रहेको छ। 

चीनमा निर्मित भ्याक्सिनको प्रयोगकर्ता रहेको चिलीले गत अप्रिल महिनामा १ करोड मानिसहरुलाई लगाइएको खोपको नतिजा सार्वजनिक गरेको थियो। उक्त नतिजामा सिनोभ्याक भ्याक्सिनले कोरोनाबाट हुने मृत्युदरलाई ८० प्रतिशत घटाएको उल्लेख गरिएको थियो। यद्यपि विश्वमा सबैभन्दा खोप लगाएको देशमध्ये एक भए पनि चिलीमा गत अप्रिल महिनामा कोरोनाका केसहरुमा वृद्धि भएको थियो। – सीएनबीसी