काठमाण्डौ । बजारमा झिनो करेक्सन आएको छ । योसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ । 

यो दिन बजारमा पौन ५ अर्ब रुपैयाँ हाराहारीमा कारोबार भएको छ । अघिल्लो दिन(आइतबार) झण्डै ७ अर्ब रुपैयाँको सेयर एकैदिन किनबेच भएको थियो । 

अघिल्ला सातादेखि नियमित बढेको बजारमा अधिकांश कम्पनीहरुमा बिक्री चाप आएका कारण बजारले सानो करेक्सन ल्याएको विश्लेषकहरुको भनाइ छ । 

नेप्सेको अनलाइन प्रणालीमा आम लगानीकर्ताहरुको पहुँच वृद्धि भएसँगै अल्पकालीन कारोबारीहरुसमेत पछिल्लो समय हाबी भइरहेका छन्, जसले अल्पकालीन नाफा बुक गर्नतर्फ ध्यान दिँदा बजारमा झिनो करेक्सन आएको हो । 

विश्लेषकहरुले झिनो करेक्सन भएको बजारले दिगो बढोत्तरीलाई निम्ता गरेको दाबी गरेका छन् । उनीहरुको भनाई छ-'आरोहीले सगरमाथाको चुचुरो चुम्नका लागि केही समय बिसाएर शक्ति सञ्चय गरेजस्तो बजार निरन्तर बढेपछि करेक्सन आउँछ । तर, यसको अर्थ फेरि बजार बढ्दैछ भन्ने हो, जुन निश्चित छ ।' 

कतिपयले भने भारी अंकको करेक्सन हुने अनुमानविपरीत सामान्य अंकले मात्र बजार करेक्सन हुन थालेको भन्दै बजारले चाँर्ड अलटाइटम हाई १८८१ को विन्दूलाई ब्रेक गर्ने दाबी समेत गरिरहेका छन् । 

नेप्सेमा सूचीकृत कम्पनीका विभिन्न सेक्टरमा बहार आइरहँदा आम लगानीकर्ताहरुको सहानुभूति र आकर्षण पछिल्लो समयमा बैंकिङतर्फ बढिरहेको देखिन्छ । आकर्षक लाभांश दिनसक्ने आधारभूत रुपमा केही बलिया र राम्रा ग्रोथ भएका बैंकहरुमा अत्याधिक खरिद चाप परी सेयरमूल्य बढिरहेको जानकार बताउँछन्। यहीकारण समेत उनीहरुले अबको उछाल बैंकिङ समूहबाट सुरु हुने अनुमान गरिरहेका छन् ।  

आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ४ वटामा मात्र हरियाली छाएको छ भने बाँकी ८ वटामा रातो पोतिएको छ।

यो दिन उत्पादन तथा प्रशोधन समूहमा सर्वाधिक १३३.९८ अंकको बढोत्तरी भएको छ। होटेल्स् समूह ७६.६९ अंकले उकालो लागेको छ भने व्यापार समूह २९.१७ अंक र बैंकिङ समूह ६.०५ अंकले बढेका छन्।

आज जीवन बीमा समूह सबैभन्दा धेरै १८२.४ अंकले ओरालो लागेको छ। निर्जीवन बीमा समूह १२५.९७ अंकले घटेको यो दिन विकास बैंक समूहमा १.८१ अंक, जलविद्युत् समूहमा १.७५ अंक, वित्त समूहमा १.७६ अंक, अन्य समूहमा १६.०७ अंक, लघुवित्त समूहमा २०.९१ अंक र म्युचुअल फन्ड समूहमा ०.१७ अंकको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृत १९९ कम्पनीका १ करोड २० लाख २१ हजार ३४७ कित्ता सेयर ४ अर्ब ७६ करोड २७ लाख ४ हजार ६११ रुपैयाँमा कारोबार भएको छ।

आज नेपाल बैंकको सर्वाधिक ३० करोड २२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल पुनर्बीमा कम्पनीको २९ करोड ३० लाख रुपैयाँको कारोबार भएको यो दिन हिमालयन डिस्टिलरीको २८ करोड ९७ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको २३ करोड २१ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकको १७ करोड २१ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १४ करोड ९७ लाख रुपैयाँ, प्रभु बैंकको १३ करोड ६१ लाख रुपैयाँ, नेपाल टेलिकमको १३ करोड ४४ लाख रुपैयाँ, शिवम् सिमेन्ट्सको १३ करोड ३४ लाख रुपैयाँ र नेको इन्सुरेन्सको १२ करोड ५० लाख रुपैयाँबराबरको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने
आज दुई कम्पनीका सेयरधनीहरु मालामाल भएका छन्। हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्टको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको छ भने हिमालयन डिस्टिलरीको सेयरमूल्य पनि ९ प्रतिशत बढीले बढोत्तरी भएको छ।

यो दिन एनआईसी एसिया ब्यालेन्ड् फन्ड र सिटिजन्स म्युचुअल फन्ड–१ का इकाइमूल्य र गुडविल फाइनान्सको सेयरमूल्यमा ४ प्रतिशत बढीले गिरावट आएको छ।