काठमाण्डौ । वाणिज्य बैंकहरुले चैतमा ब्याजदर नबढाउने भएका छन्। वाणिज्य बैंकहरुले फागुनकै ब्याजदरलाई चैतमा निरन्तरता दिने सहमति गरेका हुन्।

नेपाल बैंकर्स संघ (एनबिए) को शुक्रबार साँझ बसेको बैठकमा ब्याजदर नबढाउने सहमति बनेको हो। फागुनकै ब्याजदरलाई चैतमा निरन्तरता दिने सहमति वाणिज्य बैंकका सीईओहरुबीच भएको छ। 

यो सहमतिसँगै वाणिज्य बैंकहरुको चैतका लागि व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ११.०३ र संस्थागतमा अधिकतम १०.०३  प्रतिशत ब्याज कायम हुनेछ। बचत खातामा न्यूनतम ५.०५ प्रतिशत ब्याजदर हुनेछ।

व्यवसायीहरुले ब्याजदर बढेकोले आफूहरु मर्कामा परेको गुनासो गर्दै आएका थिए। व्यवसायीहरुकै विरोधका कारण अर्थ मन्त्रालय र राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थाहरु ब्याजदर नबढाउन दबाब परेको बताइएको छ। 

एक वाणिज्य बैंकका सीईओले भने ब्याजदर बढाएरमात्रै निक्षेप नआउने निष्कर्षसहित चैतमा फागुनकै ब्याजदरलाई निरन्तरता दिने सहमति बनेको बताए। 

वाणिज्य बैंकहरुले ब्याजदर नबढाउने सहमति गरेसँगै अब विकास बैंक र फाइनान्स कम्पनीले पनि चैतमा फागुनकै ब्याजदरलाई निरन्तरता दिने सम्भावना रहेको बताइएको छ। 

बैंक तथा वित्तीय संस्थाहरुले भोलि फागुन ३० गते चैतमा लागू हुने ब्याजदर सार्वजनिक गर्नेछन्।