काठमाण्डौ । वाणिज्य बैंकहरुले चैतमा ब्याजदर घटाउने प्रबल सम्भावना रहेको छ। 

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ (एनबीए)को भोलि बिहीबार बिहान ९ः३० बजे बैठक छ। सोही बैठकले चैतमा ब्याजदर घटाउने निर्णय गर्ने सम्भावना छ। 

एक बैंकरका अनुसार वाणिज्य बैंकहरुबीच फागुनको तुलनामा चैतमा ०.५ प्रतिशतको विन्दुदेखि १ प्रतिशतको विन्दुले ब्याजदर घटाउने विषयमा सहमति हुन सक्छ। ‘ब्याजदर घटाउने नै सहमति हुन सक्छ’, ती बैंकरले भने, ‘तर, चैतमा ०.५ प्रतिशतको विन्दुले वा १ प्रतिशतको विन्दुले अथवा चैतमा ०.५ प्रतिशतको विन्दुले र वैशाखमा ०.५ प्रतिशतको विन्दुले घटाउने सहमति पनि हुन सक्छ।’

ब्याजदर उच्च हुँदा कर्जाको माग कम हुनु र निक्षेप थपिँदै जानुले चैतमा ब्याजदर घटाउने विषयमा बैंकहरुबीच अनौपचारिक रुपमा सहमति भइसकेको पनि ती बैंकले बताए। ‘अहिले कर्जाको माग ज्यादै न्यून भएको छ, त्यसैले पनि निक्षेपको ब्याजदर घटाउनैपर्ने अवस्था छ’, ती बैंकरले भने। 

वाणिज्य बैंकहरुबीच गत फागुनमा ब्याजदर स्थिर राख्ने सहमति भएको थियो। जसअनुसार व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११ प्रतिशत, रेमिट खाताको चाहिँ १२ प्रतिशत र ३ महिना वा सोभन्दा बढी अवधिको संस्थागत मुद्दति निक्षेपको ब्याजदर ९ प्रतिशत कायम गरिएको थियो। 

यदि एनबीएको बैठकले १ प्रतिशतको विन्दुले ब्याजदर घटाउने निर्णय गरेमा चैतमा व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर १० प्रतिशत, रेमिट खाताको चाहिँ ११ प्रतिशत र ३ महिना वा सोभन्दा बढी अवधिको संस्थागत मुद्दति निक्षेपको ब्याजदर ८ प्रतिशत कायम हुनेछ।

यसैगरी ०.५ प्रतिशतको विन्दुले घटाउने निर्णय एनबीएले गरेमा चैतमा व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर १०.५ प्रतिशत, रेमिट खाताको चाहिँ ११.५ प्रतिशत र ३ महिना वा सोभन्दा बढी अवधिको संस्थागत मुद्दति निक्षेपको ब्याजदर ८.५ प्रतिशत कायम हुनेछ।