काठमाण्डौ । आउँदो चैतको दोस्रो सातादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १८ घन्टामात्रै सञ्चालनमा आउने भएको छ। 

अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहान ६ देखि मध्यराति ३ बजेसम्म २१ घन्टा सञ्चालनमा छ। अब चैत १५ विमानस्थल बिहान ६ बजदेखि राति १२ बजेसम्म अर्थात १८ घन्टामात्रै खुला रहने विमानस्थल व्यवस्थापनले जनाएको छ। 

विमानस्थल सञ्चालनको अवधि छोटिएसँगै अब जापान, दोहो र दुबईमा उडान भर्दै नेपाल वायुसेवा निगम, कतार एयर र हिमालय एयरलाइन्स र एयर अरेबियाले आफ्ना रात्रिकालीन उडान तालिका परिवर्तन गर्नुपर्ने भएको छ। 

अहिले विमानस्थलबाट २१ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा दैनिक ३० वटासम्म अन्तर्राष्ट्रिय उडान हुँदै आएका छन्। कोरोना महामारीअघि दैनिक ८० वटासम्म उडान हुँदै आएका थिए। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले १५ मुलुकका विमानले उडान अनुमति लिएका छन् भने १४ वटा मुलुकका विमानले अहिले उडान थालिसकेका छैनन्।