काठमाण्डौ । यदि हाल भइरहेको प्रयासले केही महिनामै सार्थकता पायो भने अबैध रुपमा(भन्सार नतिरी) नेपाल भित्रिएका मोवाइलमा नेपालका दूरसंचार प्रदायक कम्पनीहरुको सीम चल्ने छैन । 

चोरीका मोवाइलले बैधानिक व्यापार चौपट भएपछि आफ्नो व्यवसायको बजारको स्थिरता र लगानी सुरक्षाका लागि एकजुट भई देशमै पहिलोपटक संगठन बनाएका मोवाइल आयातकर्ताहरुले थालेको प्रयास सफल भएमा केही महिनाभित्रदेखि नै अबैध रुपमा भित्रिने मोवाइलमा नेपालका कुनै पनि कम्पनीको सीम नचल्ने भएको हो । 

आइतबार मोवाइल फोन आयातकर्ताहरुको छाता संगठनको रुपमा 'मोवाइल फोन इम्पोटर्स एशोसिएसन'लाई सार्वजनिक गर्दै अधिकारीहरुले नियामकले आफूहरुको आवाज चाँडो सुन्यो भने नेपाली सीमा चोरीका वा भन्सार छली नेपाल भित्रिएका मोवाइल फोनमा नचल्ने प्रणालीको विकास हुने र यसले बैधानिक व्यापारलाई टेवा पुुग्ने बताएका छन् ।

नेपालमा हाल ४० वटा ब्राण्डका मोवाइल आयात भइरहेकोमा २२ वटा ब्राण्डका मोवाइल आयातकर्ताको सहभागितामा गठित एशोसिएसनको बिषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष दीपक मल्होत्राले दूरसंचार प्राधिकरणसँग अबैध मोवाइलको बजार निरुत्साहनको बिषयमा छलफल तीव्र पारिएको बताए । 

'हामीले संगठन नै खोल्नुुको मुख्य उद्देश्य पनि मोवाइल फोनको अबैध व्यापारलाई विस्थापन गरी बैधानिक कारोबार संचालन गर्नेहरुको भविष्य सुनिश्चित गर्नु हो ।' उनले भने-'प्राधिकरण हाम्रो प्रस्तावको बिषयमा सकारात्मक छ । केही महिनाभित्रमै चोरीका मोवाइलमा नेपाली सीम नचल्ने व्यवस्था लागूू हुने अधिक संभावना छ ।'  

मल्होत्राका अनुसार संगठनले प्राधिकरणमा भन्सार तथा राजश्व तिरेर नेपाल भित्रिएका सबै मोवाइल फोन आयातकर्ताहरुले आफूले ल्याएको सबै फोनको इएमआई नम्बर प्राधिकरणलाई उपलब्ध गराउने र सो इएमआई नम्बर बाहेकका फोनहरुमा नेपालका कुनै पनि दूरसंचार कम्पनीको सीम हाल्दा नचल्ने सिस्टमको विकास गरिनेछ । 'यदि यो काम हुनसक्यो भने मोवाइल फोनको अबैध व्यापार विस्थापन हुने थियो ।' उनले थपे-'यसले कानूनी रुपमा व्यापार गर्ने हामीजस्ता व्यवसायीलाई सहज हुने थियो ।' आफूहरुले पहिलादेखि नै प्राधिकरणसामु यो माग राखे पनि संगठन नभएका कारण नसुनिएको र अब संगठनको बलमा केही महिनाभित्रमै मोवाइलको ग्रे मार्केट विस्थापनको निर्णय गराएरै छाड्ने उद्घोष गरे । 

मोवाइल फोन आयातकर्ता संघका उपाध्यक्ष सञ्जय अग्रवालका अनुसार हाल देशभर ४ हजार साना व्यापारी र तिनको परिवार मोवाइल फोन क्षेत्रमा आश्रित रहेका छन् । यस्तै, संगठनको सदस्य फर्महरुमा ३ हजार २ सय युवायुवतीले रोजगारी पाएका छन् । रोजगारी पाउनेमध्ये ४० प्रतिशत महिला छन् । अग्रवालका अनुसार मोवाइल फोनको मर्मतको क्षेत्रमा मात्र १० हजारले प्रत्यक्ष रोजगारी पाएका छन् । उनका अनुसार नेपालका मोवाइल आयातकर्ताहरुले आर्थिक वषृ २०७२ ७३ मा मूूल्य अभिवृद्धि कर बापत १६५ करोड, संस्थागत आयकर बापत २० करोड, अन्य अप्रत्यक्ष करहरुबाट गरी  २ अर्ब बराबरको राजश्व स रकारलाई तिरेका र यो वर्ष यो रकम २५ प्रतिशतसम्म बढ्नसक्ने बताए । उनले मोवाइल फोनको क्षेत्र फैलँदो रहे पनि यसको स्थिर बजार तथा लगानीको सुरक्षा आवश्यक रहेकोले गैरकानूनी व्यापार सतप्रतिशत विस्थापन हुनुपर्नेमा जोड दिए । 

छाता संगठनको रुपमा गठन भएको भनिएको एशोसिएसनमा छुटेका अन्य आयातकर्ताहरुलाई समेत क्रमशः समेट्दै जाने महासचिव अमित अग्रवालले बताए । उनका अनुसार हाल वार्षिक करिब २५ अर्ब रुपैयाँ बराबरको मोवाइल नेपालमा आयात हुने गरेको छ । 

स्मरणरहोस्, मोवाइल फोनको रिटेलर र डिस्टिब्यूटर्सहरुको यसअघि नै अलग-अलग संगठन बनिसकेको छ ।