काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडले हकप्रद जारी गर्ने विशेष प्रस्ताव हाललाई स्थगन गरेको छ।

बीमा समितिको निर्देशनपछि कम्पनी सञ्चालक समितिको बैठक बसी हाललाई हकप्रद जारी गर्ने विशेष प्रस्ताव स्थगन गरेको हो। बीमा समितिले गत चैत २३ गते पत्र पठाउँदै अजोडलाई हकप्रद कम्पनीले प्रस्ताव गरेको पुँजी वृद्धि र हकप्रद जारीसम्बन्धी विशेष प्रस्ताव स्थगन गर्न निर्देशन दिएको छ।

कम्पनी सञ्चालक समितिको गत चैत १६ गते बसेको बैठकले हाल कायम कम्पनीको चुक्तापुँजीको ५० प्रतिशत हकप्रद जारी गर्नेसम्बन्धी विशेष प्रस्ताव आगामी वार्षिक साधारणसभा पेस गर्ने निर्णय गरेको थियो। सोहीअनुसार कम्पनीले चैत १७ गते वार्षिक साधारणसभाको सूचना प्रकाशित गरेको थियो। तर अघिल्लो दिन नै सूचना चुहिएर यो कम्पनीको सेयरमा एकाएक उछाल आएको थियो। 

कम्पनीको सेयरमूल्यमा आएको अस्वाभाविक बढोत्तरीप्रतिशत अर्थ मन्त्रालयदेखि नेपाल धितोपत्र बोर्डसम्मले चासो देखाएका थिए। धितोपत्र बोर्डले मन्त्रालयकै निर्देशनमा उक्त दिनको कारोबारका विषयमा अनुसन्धान गर्न छानबिन समितिसमेत गठन गरेको छ। बजारमा यो कम्पनीको सेयरमा इन्साइडर ट्रेडिङ भएको सर्वत्र चर्चा पनि चलेको थियो।

चौतर्फी आलोचना र दबाबपछि कम्पनीले हाललाई यो प्रस्ताव स्थगित गरेको बुझिएको छ।