काठमाण्डौ । चौतारी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ कौ चौथो त्रैमासमा अघिल्लो वर्ष सोही अवधिको तुलनामा १७६ प्रतिशतले खुद नाफा बढाउन सफल भएको छ । अन्य सूचकमा पनि उत्साहजनक प्रगति गरेको छ । 

संस्थाको समीक्षा अवधिमा खुद नाफा रु. २.८२ करोड रहेको छ । जुन अघिल्लो आर्थिक वर्षमा रु. १.०३ करोड रहेको थियो । 

संस्थाले व्यवसाय विस्तारमा पनि आक्रामक गति समातेको उसको खुद ब्याज आम्दानीतर्फको बढोत्तरीले देखाउँछ । 

संस्थाको खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा झन्डै ११० प्रतिशतले बढेर समीक्षा अवधिमा रु. १९ करोड ३६ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षमा संस्थाको खुद ब्याज आम्दानी रु. ९ करोड २३ लाखमा सीमित थियो । 

संस्थाको सञ्चालन मुनाफा रु. २ करोड ३८ लाख पुगेको छ । जुन अघिल्लो आवको सोही अवधिमा रु. १ करोड ६२ लाखमा सीमित थियो। 

संस्थाले समीक्षा अवधिमा रु. ८९ करोड ९९ लाख सापटी लिई रु. १ अर्ब ५६ करोड ३६ लाख ऋण प्रवाह गरेको छ । अघिल्लो वर्षको यही अवधिमा कम्पनीले रु. ४४ करोड ३४ लाख सापटी लिई रु. ७७ करोड ५५ लाख ऋण प्रवाह गरेको थियो । 

समीक्षा अवधिमा संस्थाको चुक्ता पुँजी रु. १८ करोड ६० लाख रहेको छ । 

अघिल्लो आर्थिक वषैको तुलनामा संस्थाले जेगडा तथा सञ्चित कोषमा २९० प्रतिशत बढोत्तरी गरेको छ । अघिल्लो वर्ष रु. १ करोड ४९ लाखमा सीमित यो कोषको आकार बढेर रु. ४ करोड ३२ लाख पुर्याइएको छ । 

समीक्षा अवधिमा संस्थाको प्रतिसेयर आम्दानी रु. १५.१७ र नेटवर्थ रु १२३.२ रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ३०.५८ रहेको छ ।