काठमाण्डौ । नेपालका चौथो कोरोना संक्रमित धनगढीका ३२ वर्षीय युवा दिल्लीबाट काठमाण्डौ आएको जहाजको विवरण खुलेको छ । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यो विषयमा जानकारी दिएका हुन् । 

डा. देवकोटाका अनुसार कैलाली स्थायी घरका भएका ती युवक दुबईबाट दिल्ली आएका थिए । दिल्लीबाट २० मार्चमा भिस्तारा एयरबाट काठमाण्डौ अवतरण गरेका थिए । सो फ्लाइटको नम्बर यूके १५५  थियो । 

ती संक्रमित युवालाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको छ । 

काठमाण्डौ आएको भोलिपल्ट चैत ८ गते उनी बुद्ध एयरको जहाजबाट नेपालगञ्ज अवतरण भएका थिए । त्यहाँबाट माइक्रोबसमा धनगढी पुगेका उनले बिरामी हुनुअघि आफन्त, गाउँघरका साथीभाई तथा छरछिमेक समेत भेटेका थिए । 

विदेशबाट गएपछि उनी २ दिन धनगढी उपमहानगरपालिका वडानम्बर ५ स्थित घरमा बसेका थिए । १० गते उनी रुघाखोकी र ज्वरोले ग्रस्त पारेको भन्दै आफैं अस्पताल पुगेका थिए । 

अस्पतालले कोरोना संक्रमणको आशंका गरी उनको स्वाब टेकूस्थित केन्द्रीय प्रयोगशालामा पठाएको थियो । शुक्रबार त्यसको रिपोर्ट आउँदा उनमा संक्रमण पुष्टि भएको थियो ।