मेलम्ची । भूकम्प गएको १५ महिना बित्नै लाग्दा अझै पनि पीडितले ढुक्कको श्वास फेर्न सकेका छैनन् । पीडित भन्छन्–‘यो वर्षा काट्न धौधौ भयो । पुराना टिनको छानोबाट पानी चुहिन्छ । दिन र रातको समयमा पर्ने पानीका कारण यो वर्ष पनि अनिँदो बस्नुपर्ने बाध्यता छ ।’ 

असार साउनको महिना मानो रोपेर मुरी फलाउने समयमा कामको चटारो र दिनभरको थकान मेट्न टहरोमा पुग्यो, पानी चुहिने टिनको छानो मिलाउँदैमा थप थकित हुनु परेको छ । यस किसिमको समस्या झेल्दै आएका सिन्धुपाल्चोक जिल्ला शिखरपुरका दलित समुदायका समाजसेवी प्रेमबहादुर विक मात्रै नभई जिल्लाका विभिन्न गाविस तथा अन्य भूकम्प प्रभावित क्षेत्रका स्थानीयवासीका पीडासमेत विकसँग मिल्दोजुल्दो छ । 

गत बर्खामा छानाबाट चुहिने पानीसँग रुझ्दै दिनरात बिताएका भूकम्पपीडितको यस वर्ष आफ्नै भूकम्प प्रतिरोधात्मक घरमा बस्ने सपना असारको बाढीसँगै बगेको भोटचौर गाविसका स्थानीय दिनेश चौलागाईंले बताए । कतिपय गाविसमा पुनःनिर्माणका लागि अनुदान सम्झौतासमेत भएको भए तापनि बर्खाको धान रोप्ने व्यस्त समयमा पुनःनिर्माणको कामले गति लिने स्थिति नरहेको किसान हेमराज खतिवडा बताउँछन् । 

हावाहुरीेका कारण भूकम्पबाट थलिएका सिन्धुपाल्चोक जिल्लाका भूकम्पपीडितले अझै सुरक्षाको अनुभूति गर्न नसकेको पीडित भन्छन्–‘अब भूकम्पले केही गर्दैन भएका सबै घरदेखि भौतिक संरचना ढलेका छन् तर अझै पनि बर्खाको पानी र हावाहुरीको डरमा नै बस्न बाध्य छौँ ।’
वर्षा हुनासाथ छानाबाट पानी चुहिएर टहराभित्र कोचाकोच गरेर अटाएका अन्तपात, लत्ताकपडा लगायतका सुत्ने ओछ्यान आधी भिजेको हुन्छ, यति मात्र होइन हावाहुन्डरी लागेको समयमा त झन् टिनको छाना समाउँदै बस्नुपर्ने बाध्यता रहेको पीडितसमक्ष ताजै छ । 

बर्खाको समयमा टहराको चारैतिरबाट पानी छिर्ने हँुदा आफ्नो टाउको समेत ओत्याउन समस्या पर्नेमा टहरामा नै अटाएर राखिएको खाद्यान्न, लत्ताकपडासमेत जोगाउन मुस्किल हुने हेलम्बुका स्थानीयवासी सांगे ह्याल्मो बताउछन । 

अनुदान सम्झौता भएको भए तापनि अझ पीडीतसमक्ष उक्त सम्झौता रकम पुग्न निकै समय लाग्ने देखिन्छ । रकम पाए पनि असार साउनको व्यस्त समयमा पुनःनिर्माण गर्ने लक्षण नै देखिँदैन । जिल्लाभर अनुदान सम्झौताको लहर चले पनि धान रोप्ने व्यस्त समयमा भूकम्पपीडितले कामको चटारोको कारण सम्झौतासमेत गर्न सकेका छैनन् ।