काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले अन्तर्राष्ट्रियस्तरको प्रतिष्ठित सर्टिफिकेसन ‘स्मार्ट क्याम्पियन’ सर्टिफिकेट प्राप्त गर्न सफल भएको छ। 

अमेरिकाको वासिंटन डीसीमा अवस्थित स्मार्ट क्याम्पियनले निर्धारण गरेका ग्राहक संरक्षणसम्बन्धी ७ सिद्धान्त र १९२ मानकलाई पूर्ण रुपमा पालना गरेकोमा छिमेक लघुवित्तले स्मार्ट क्याम्पियनबाट अन्तर्राष्ट्रियस्तरको मापदण्ड पूरा गरेको विश्वका उत्कृष्ट वित्तीय संस्थाका रुपमा मान्यताको प्रमाणपत्र प्राप्त गरेको हो। ग्राहकको आवश्यकताअनुसारको सेवासुविधा, ग्राहकलाई अधिक ऋणग्रस्त हुनबाट जोगाउने, संस्थाको प्रत्येक क्रियाकलाप पारदर्शिता, सेवाको मूल्य निर्धारण गर्दा जिम्मेवार बन्ने, ग्राहकप्रति मर्यादित सम्मानजनक व्यवहार गर्ने, ग्राहकको तथ्यांक तथा सूचना गोप्य राख्ने र ग्राहकको गुनासो सुनुवाइ संयन्त्र चुस्तदुरुस्त बनाई यी सातै सिद्धान्त अवलम्बन गरेकोले ग्राहक संरक्षण प्रमाणपत्र पाउन योग्य भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशीले जानकारी दिए। 

अन्तर्राष्ट्रियस्तरको प्रतिष्ठित सर्टिफिकेसन पाएसँगै थप ऊर्जा प्राप्त भएको शर्माले बताए। आगामी दिनमा अझ ग्राहक र सदस्य प्रतिको जिम्मेवारिलाई सर्वोपरि ठान्ने हौसला मिलेको  उनको भनाइ छ। 

यस प्रमाणपत्र प्रक्रियामा निरन्तर सहयोग गर्दै आइरहेको सक्षम एसिस टु फाइनान्स, गुड रिटर्न, एम–सीआरआईएल, सञ्चालकहरु, पूर्वप्रमुख कार्यकारी अधिकृत रामचन्द्र जोशी, संस्थाका कन्सल्ट्यान्ट नवीन सुवेदी, संस्थाका सम्पूर्ण कर्मचारी र ग्राहकप्रति संस्थाले विशेष आभार प्रकट गरेको छ। 

२०५८ सालमा नेपाल राष्ट्र बैंकबाट छिमेक विकास बैंकका रुपमा स्थापना भई हाल देशको ६७ जिल्लाका १७३ शाखामार्फत कार्य गर्दै आइरहेको राष्ट्रियस्तरको छिमेक लघुवित्तले हालसम्म विकट गाउँ, पिछडिएका विपन्न वर्गका ३ लाख ८३ हजारभन्दा बढी परिवारहरुलाई आयमूलक क्षमता अभिवृद्धि कार्यक्रमका साथै वित्तीय साक्षरता सहित वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ ।