काठमाण्डौ । नेपाल इन्भेस्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियारले बहिष्कारको नीतिभन्दा पनि वार्ताको खुला राखेर अगाडि बढ्नुपर्ने सुझाव सेयर लगानीकर्ताहरुलाई सुझाव दिएका छन्। 

राजधानीमा आज आयोजित सेयर लगानीकर्ताहरुको भेलालाई सम्बोधन गर्दै रौनियारले सरकार र राष्ट्र बैंकको पुँजीबजार प्रतिकूल नीतिविरुद्ध आगामी चुनाव बहिष्कार गर्ने, नो भोट अभियान चलाउनेभन्दा पनि वार्ताबाटै समस्या समाधान गर्नुपर्नेमा जोड दिएका हुन्। ‘तर, यो मेरो नितान्त व्यक्तिगत विचार हो’, उनले भने।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा ल्याएको व्यवस्थाले बजार २५ प्रतिशत तल खस्दा आमलगानीकर्ताजस्तै आफूलाई पनि निकै पीडा भएको बताए। ‘पुँजीबजार सुधारका लागि म लड्न तयार छु’, उनले भने।

नेपालको सेयर बजार निकै विस्तार भइसकेको उल्लेख गर्दै रौनियारले अहिले १६ प्रतिशत जनता सेयर बजारमा आबद्ध रहेको बताए। ‘तर राष्ट्र बैंकको गलत नीतिले आमलगानीकर्ता अन्यायमा परेका छन्’, उनले भने।

पुँजी बजार सुधार संघका अध्यक्ष रोहन कार्कीले पुँजीबजारविरोध नीतिविरुद्ध अब आमलगानीकर्ता एकजुट हुन आवश्यक रहेको बताए। ‘देशको ठूलो जनसंख्या सेयर बजारमा भित्रिएका छन्’, उनले भने, ‘आमलगानीकर्ताको घर–खेत सबै सेयर बजार बनेको छ, सरकारले गलत नीतिका कारण अहिले तिनै जनताको सम्पत्ति असुरक्षित बनेको छ।’

सरकारले पुँजीबजारलाई क्यासिनो बनाएको आरोप कार्कीले लगाए। ‘नीतिगत भ्रष्टाचार गरेको छ’, उनले भने, ‘त्यसविरुद्ध आमलगानीकर्ता जाग्न जरुरी छ।’