– अनन्त्य सुन्दर

काठमाण्डौ । नेपालको सेयर बजार विगत केही महिनादेखि निरन्तर घट्दो क्रममा रहेको छ। घट्दो क्रममा रहेको बजारलाई ब्याजदर बढ्दा झनै प्यानिक बनाएको अवस्था छ। 

हिजो नेपाल बैंकर्स संघको बसेको बैठकले बैंकहरुबीच भएको भद्र सहमति तोडी असोजमा ब्याजदर बढ्ने संकेत गरेका थिए। जसका कारण हिजो बजारमा ५७ अंकको गिरावट आयो। 

आज बैंकहरुले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। जसमा निक्षेपको ब्याजदर बढेको छ। यही कारण आज पनि बजारमा १४.१० अंकको गिरावट आएको छ। 

नेपाल इन्भेस्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार ब्याजदर बढ्दै लगानीकर्ताहरु प्यानिक हुन आवश्यक नरहेको बताउँछन्। ‘केही बैंकहरुका कारण विगत ६ महिनादेखि बैंकहरुबीच भएको सहमति तोडिएको छ’, उनी भन्छन्, ‘धेरै लगानीकर्ताले ४–१२ सेलटमेन्ट गरिसकेका छन्। ३५ खर्बको बजारमा करिब ७० अर्बमात्र लोन भएकाले अहिले ब्याजदर बढ्यो भनेर लगानीकर्ता आत्तिनुपर्दैन।’

रौनियार कम्पनीहरुको सेयरमूल्य निक्कै नै घटिसकेकाले अहिले बजारमा लगानी गर्ने उचित समय भएको बताउँछन्। ‘अहिले बजार घटेको समयमा वित्तीय अवस्था राम्रो भएको कम्पनीहरुका सेयर खरिद गर्दा बजारबाट राम्रो प्रतिफल आर्जन गर्न सकिन्छ’, उनी भन्छन्।

अहिले बजार सुधारका धेरै काम भइरहेको उल्लेख गर्दै रौनियार आस्बा शुल्क घटाइसकेको नेपाल धितोपत्र बोर्ड ब्रोकर कमिसन घटाउने तयारी रहेको बताउँछन्। ‘त्यस्तै बोर्डले नयाँ ब्रोकर लाइसेन्स दिन लागेको छ। त्यसैले अहिले लगानी नगरे कहिले गर्ने ?’ प्रश्न गर्दै रौनियार भन्छन्, ‘मसँग पैसा भएको भए अहिले म लगानी गर्थें। बजारमा रिस्क त सधैँ हुन्छ तर अहिले बजारमा २० प्रतिशत रिस्कको सम्भावना हुँदा रिटर्नको ८० प्रतिशत छ।’

वैदेशिक रोजगारीमा जानेहरुको संख्या बढेसँगै अहिले रेमिट्यान्स भित्रिने क्रम पनि बढिरहेको रौनियार बताउँछन्। ‘आउने वर्षमा १३–१४ खर्ब रेमिट्यान्स आउने देखिन्छ। चुनाव पनि नजिकिँदैछ। त्यसका साथै अर्थतन्त्रमा पनि अहिले सुधार भइरहेको छ’, उनले भने, ‘त्यसैले अहिले सस्तो मूल्यमा वित्तीय अवस्था राम्रो भएका कम्पनीहरुमा लगानी गर्ने उचित समय हो।’

सेयर बजारमा लगानी गर्ने लगानीकर्ताको संख्या अहिले बढ्दो क्रममा छ। तर सेयर बजार बुझेका लगानीकर्ताको संख्या भने न्यून छ। ‘सानो खबर आउँदा नै आकाश नै खसेजसरी सेयर बेच्न लगानीकर्ताहरु आत्तिन्छन्’, रौनियार भन्छन्, ‘वित्तीय साक्षरताको कमीले गर्दा बजार थोरैले घट्दा आत्तिने र थोरैले बढ्दैमा मातिने बानी नयाँ लगानीकर्तामा देखिएको छ।’