काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो ११ औँ वार्षिक साधारणसभा डोकेको छ।

संस्थाको बिहीबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही पुस ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा रुपन्देहीको बुटवलस्थित होटेल न्यु इरामा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल २६.३१५७ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.३१५७ प्रतिशत नगद लाभांश छन्। 

सभाले बोनस सेयर जारीपछि संस्थाको जारी तथा चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

अन्य उपयुक्त एक वा एकभन्दा बढी लघुवित्त संस्था आपसमा गाभ्न, गाभिन र प्राप्ति गर्न उचित देखिएमा आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु छलफल गरी पारित गरिनेछन्।

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले यही पुस २१ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब पुस २० गतेसम्म कायम सेयरधनीहरुमात्रै यो लघुवित्तको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।