काठमाण्डौ । जनकपुरमा ल्याएर थन्किएको रेल बैशाखभित्रैबाट संचालनमा आउने भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन् । 

'जनकपुरमा २ वटा रेल ल्याइसकेका छौं, यही महिनाबाट संचालन थाल्नेछौं ।' प्रम ओलीले भने-'पूर्वपश्चिम रेलमार्गको काम पनि धमाधम भइरहेको छ। कतिपय ठाउँमा ट्रयाक बनाउने, पुल बनाउने काम, जग्गा अधिग्रहणका काम सुरु गरेका छौं । यो रेलमार्ग पनि चाँडै बन्छ ।'

उनले रानीपोखरीको उद्घाटन भइसकेको र बैशाख ११ गते धरहरा पनि उद्घाटन हुने घोषणा गरेका छन् । 'धरहरामा लिफ्टबाट बालबालिका, जेष्ठ नागरिक समेत माथि जानसक्ने र त्यसको कौशीबाट वरिपरि काठमाण्डौको दृश्यावलोकन गर्न सकिने एउटा उपाहरको रुपमा लोकार्पण गर्दैछौं ।' उनले भने-'यो बीचमा हवाई मैदानको स्तरोन्नतिको काम पनि भइरहेको छ, निर्माणको काम पनि भइरहेको छ । कतिपय विमानस्थललाई राति चल्ने समेत बनाइएको छ ।' 

उनले आफू नेतृत्वको सरकारले प्रतिकूलताका बीचमा पनि समयलाई खेर जान नदिएको दाबी गरेका छन् । हामीलाई जश र श्रेय लिने होडबाजीमा सामेल हुनुछैन । 'हामीलाई काम चाहिएको छ । देशबाट गरीबी हटाउनुछ, देशलाई माथि उठाउनुछ, आधुनिकीकरण गर्नुछ ।' उनले थपे-'हामीले डिजीटल नेपालको क्षेत्रमा थुप्रै गरेका छौं । कृषिलाई पनि आधुनिकीकरण गराउने काम गरेका छौं । आज सिंहदरबारमै बसेर राष्टिय महत्वको आयोजनाहरुको काम हेर्नसक्ने बनाइएको छ । आजैबाट मेरो कित्ता नामको कार्यक्रम संचालन हुँदैछ, यसअन्तर्गत सर्वसाधारणले घरमै बसेर मोवाइलमा आफ्नो जग्गाको कित्ता र त्योसँग सम्बन्धित विवरण हेर्नसक्छन् ।'