काठमाण्डौ । राष्ट्रियस्तरका विकास बैंकमध्येको टप बैंकमा आफूलाई छोटो समयमा उभ्याउन सफल सिद्धार्थ डेभलपमेन्ट बैंकले राष्ट्रबैंकले तोकेको चुक्तापूँजी सहजै पुर्याउन सक्थ्यो । बेलैमा पूँजी पुर्याउने बाटोतर्फ अग्रसर यो बैंक कुनै वाणिज्य बैंकमा बिलय होला भनेर धेरैले सोचेकासम्म थिएनन् । तर, माछापुच्छे बैंकसँगको मर्जर टुटेपछि समस्यामा परेको जनता बैंकमा यो बैंक बिलय हुने खबरलाई धेरै प्रारम्भमा पत्याएनन् । खबर सही थियो, देशकै टप विकास बैंकमध्येको एक सिद्धार्थ डेभलपमेन्ट बैंकले जनता बैंकसँग एक्वीजिसनको सम्झौता गरिसकेको थियो । 

निकै छोटो समयमै मर्जरको काम सम्पन्न भएकै कारण एक उदाहरणीय मर्जरको रुपमा यसलाई हेरिएको छ । जनता बैंकमा सिद्धार्थ डेभलपमेन्ट बैंक गाभिएपछि आगामी असार ३० गतेदेखि एकीकृत बित्तीय कारोबार सुरु हुने तय भइसकेको छ । सिद्धार्थ डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीलाई वाणिज्य बैंककै हैसियतमा जनतामा बिलय गराउने गौरवशाली इतिहास बनाउँदै गर्दा नेपालको बैंक तथा बित्तीय क्षेत्रको मर्जरको इतिहासमा समेत केही नयाँ प्रयोगहरु भएका छन् । सिद्धार्थ डेभलपमेन्ट बैंक जनतासँग गाभिने औपचारिक दिन तय भइसकेपछि यो क्रममा के–के नयाँ काम(प्रयोग) भए, हेरौं बुँदागत रुपमा :

१.पास हुनेलाई समान पद, फेल हुनेलाई घटुवा

सिद्धार्थ डेभलपमेन्ट बैंकले जनता बैंकसँग समाहित हुँदा एक्वीजिसन भन्दा पनि मर्जरको हैसियतमा कर्मचारीलाई समायोजन गर्ने सहमति गरेको थियो । हाल जनता बैंकमा त्रिवेणी विकास बैंक गाभिएपछि कर्मचारीको संख्या ७ सयको हाराहारीमा छ । सिद्धार्थ डेभलपमेन्ट बैंकबाट सतप्रतिशत अर्थात ३ सयको हाराहारीमा कर्मचारी समायोजन भएका छन् । कर्मचारीको समायोजन गर्दा सिद्धार्थ डेभलपमेन्ट बैंकले परीक्षा समेत लिएको थियो । परीक्षा प्रणाली सिनियर अफिसर लेभलसम्मका कर्मचारीहरुको हकमा लागू गरिएको थियो । परीक्षामा उत्तीर्णलाई समान तहमा समायोजन गरिएको छ भने फेल हुनेहरु एक तह घटुवा भई जनता बैंकको कर्मचारी बन्दैछन् । बैंक उच्च स्रोतका अनुसार सिनियर अफिसरदेखि माथिल्लो लेभलका कर्मचारीहरुको हकमा समेत उनीहरुको शैक्षिक योग्यता, कार्यानुुभव लगायतलाई आधार बनाई एक तहदेखि २ तहसम्म घटुवा गरी जनता बैंकमा समायोजन गरिएको छ । 

यो प्रक्रिया हालसम्म कुनै पनि बैंक तथा बित्तीय संस्थाले मर्जरको क्रममा अवलम्बन गरेका थिएनन् । यो प्रक्रियाबाट क्षमताको कदर भएको र चिनजानको आधारमा भन्दा पनि उसमा रहेको कार्यक्षमताको आधारमा कर्मचारीले न्याय पाएका बैंक उच्च व्यवस्थापनको दाबी छ । 

२.समान स्वाप रेसियो
जनता बैंकसँग एक्वीजिसनको अन्तिम प्रक्रियामा रहेको सिद्धार्थ डेभलपमेन्ट बैंकले विकास बैंक भएर पनि १ बराबर १ सेयर स्वाप रेसियो कायम गराउने सफलता पाएको छ । त्यसो त सिद्धार्थ डेभलपमेन्ट बैंक पनि आफैंमा एक टप विकास बैंक हो । यसका सबै प्रमुख आर्थिक सूचक उत्साहप्रद छन् । समस्याग्रस्त बनिसकेको जनता बैंकमा टप विकास बैंकको प्रवेशले उत्साह थप्ने भएकै कारण पनि सिद्धार्थ डेभलपमेन्ट बैंकका सेयरधनीलाई न्याय हुने गरी समान स्वाप रेसियो कायम गरिएको छ । यसको अर्थ अब सिद्धार्थ डेभलपमेन्ट बैकका सेयरधनीले जति कित्ता सेयर बैंकमा छ, जनतासँग गाभिएपछि त्यति नै कित्ता कायम हुने अवसर पाएका छन् । यसले एक्वीजिसनप्रति सेयरधनी समेत उत्साहित देखिएका छन् । संभवत विकास बैंकले वाणिज्य बैंकसँग मर्जर वा एक्वीजिसनमा जाँदा समान स्वाप रेसियो प्राप्त गरेको यो घटना नेपालको बैकिंग इतिहासकै दुर्लभ हो । 

३.संचालकमा सम्मानजनक ठाउँ
विकास बैंक भएर पनि सिद्धार्थ डेभलपमेन्ट बैंकले जनता बैंकमा गाभिइसकेपछि निर्माण हुने संचालक समितिमा समेत सम्मानजनक ठाउँ पाएको छ । त्रिवेणी विकास बैंक गाभिएपछि केही बलियो बनेको जनता बैंकसँगको एक्वीजिसनपछि सिद्धार्थ डेभलपमेन्ट बैंकले संचालक समितिमा २ जनालाई पठाएको छ । यसले बैंकका संचालकहरुलाई समेत उत्साहित बनाएको छ । सिद्धार्थ डेभलपमेन्ट बैंककै कारण जनता बैंकको कमजोर आर्थिक अवस्थामा समेत कायापलट हुने भएकोले संचालकमा २ सिट दिन जनता बैंकको टिम समेत तयार भएको देखिन्छ । उता, व्यवस्थापनमा सिद्धार्थ डेभलपमेन्ट बैंकले दोश्रो तह पाउनेछ । डेपुुटी सीइओको रुपमा सिद्धार्थ डेभलपमेन्ट बैंकका सीइओ अजयकुमार मिश्र जानेछन् ।

४.हकप्रद फिर्ता, सेयरधनी मालामाल !
एक्वीजिसनको क्रममै जनता बैंकले समेत त्रिवेणीसँग गाभिएर कायम भएको चुक्तापुँजीको ६० प्रतिशतको दरले हकप्रद बिक्रीको निर्णय गरेको थियो । सिद्धार्थ डेभलपमेन्ट बैंकले पनि ६० प्रतिशत हकप्रद निश्कासनको तयारी गरेको थियो । एक्वीजिसनको क्रममा चुक्तापूँजीको हिसाबले बलियो विकास बैंक भएका कारण सिद्धार्थलाई ६० प्रतिशत हकप्रद बिक्री गर्न दिने र जनता बैंकको ६० प्रतिशत हकप्रद फिर्ता गर्ने महत्वपूर्ण सहमति गराउन समेत सिद्धार्थ डेभलपमेन्ट बैंकका संचालक तथा व्यवस्थापन सफल भए । यसले समान स्वाप रेसियोमा गाभिन लागेको बैंकका सेयरधनीले गाभिनुुअघि ६० प्रतिशत हकप्रद खरीदको महत्वपूर्ण अवसर पाए । यो कारण समेत सिद्धार्थ डेभलपमेन्ट बैंकको जनतामा बिलयलाई अर्को महत्वपूर्ण रुपमा हेरिएको छ । विकास बैंकको हात माथि पर्ने गरी र सो बैंकका सेयरधनी मालामाल हुने गरी भएको एक्वीजिसनको सम्झौता पनि संभवत यो नै पहिलो हो । 

५.चुुक्तापूँजी पुर्याएर एक्वीजिसनमा !
सिद्धार्थ डेभलपमेन्ट बैंकले जनता बैंकसँग मर्जरमा जाँदा चुक्तापूँजीको हिसाबले समेत नयाँ रेकर्ड बनाएको छ । सिद्धार्थ डेभलपमेन्ट बैंक त्यस्तो विकास बैंक बनेको छ, जो जनता बैंकसँग बिलय हुँदा ऊ आफैंको राष्ट्रबैंकले तोकेको भन्दा बढी चुक्तापुँजी पुगिसकेको हुनेछ । हाल यो बैंकले ६० प्रतिशत हकप्रद बिक्री गरिरहेको छ । हकप्रदको पूँजीकरणपछि चुक्तापुँजी २ अर्ब २७ करोड पुुग्नेछ । यो वर्ष ४० करोड नाफा हुुने हुँदा जनतासँग बिलय भइसक्दा यो बैंकको चुक्तापूँजी २ अर्ब ६० करोड माथि हुनेछ । नेपाल राष्ट्रबैंकले राष्ट्रिय स्तरको विकास बैंक बन्नलाई चालुु आर्थिक वर्षको चैत मसान्तसम्म २ अर्ब ५० करोड चुक्तापूँजी हुनुपर्ने प्रावधान राखेको छ । यसरी सिद्धार्थ डेभलपमेन्ट बैंक प्राप्तिमा जाँदा आफ्नै चुक्तापूँजी २ अर्ब ६० करोड हुनेछ । संभवत आफ्नै पूँजी पुगेपछि एक्वीजिसनमा जाने सिद्धार्थ डेभलपमेन्ट बैंक पहिलो बैंक बन्नेछ । 

६. द्रूत मर्जर
त्यसो त निकै छोटो अवधिमा एक्वीजिसन सम्पन्न गर्ने बैंकको रुपमा समेत जनता र सिद्धार्थको प्राप्ति प्रक्रियालाई लिन सकिन्छ । यी दुुईबीच चैत तेश्रो साता एक्वीजिसनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो । यो हिसाबले असारभित्र एकीकृत कारोबार सुरु हुँदा निकै तीव्र गतिमा मर्जर सम्पन्न गर्ने बैंकको रुपमा जनता र सिद्धार्थले रेकर्ड राखेका छन् ।