काठमाण्डौ । सिद्धार्थ डेभलपमेन्ट बैंकका कर्मचारीहरुलाई हिजोआज भ्याई नभ्याई छ । तपाईलाई लाग्यो होला जनता बैंकसँगको एक्वीजिसनका कारण यो विकास बैंकका कर्मचारीहरुलाई भ्याई नभ्याई भएको हुनसक्छ, तर यो अनुमान सरासर गलत हो । हिजोआज यो बैंकका सहायकदेखि सिनियर अफिसरसम्मका कर्मचारी अध्ययनमा व्यस्त छन् । बैंकमै काम गरे पनि उनीहरु बैकिङ बिषयको अध्ययनमा रातदिन नभनी लागेका छन् । बैंकले जनता बैंकसँग गाभिने क्रममा हुने कर्मचारी समायोजनमा कार्यरत कर्मचारीहरुको परीक्षा लिने र त्यसको प्राप्तांकको आधारमा बढूवा गर्नेदेखि घटूवासम्मको नीति लिएपछि सिद्धार्थ डेभलपमेन्ट बैंकका कर्मचारीहरु परीक्षाको तयारीमा जुटेका हुन् । 

तपाईलाई सुन्दा अचम्म लाग्यो होला, तर यो बैंकले नेपालमै मर्जर वा एक्वीजिसनमा हालसम्म प्रयोग नभएको प्रक्रिया अवलम्बन गर्न लागेको छ । मर्जर वा एक्वीजिसनको क्रममा संचालक समितिका अध्यक्ष वा सदस्य, बैंकका सीइओ र अन्य उच्च पदस्थ कर्मचारीसँग राम्रो सम्बन्ध रहनेले मात्र राम्रो विभाग पाउने, बढुवा हुने र राम्रो सम्बन्ध नहुनेले क्षमता भएर पनि एकतह घटुवा हुनुपर्ने विकृति देखिएपछि कर्मचारी समायोजनमा क्षमता अनुसारको ठाउँ तथा पद पाउन् भनेर सिद्धार्थ डेभलपमेन्ट बैंकले नयाँ प्रयोग गर्न लागेको हो । 

कर्मचारी समायोजनमा मात्र होइन, सिद्धार्थ डेभलपमेन्ट बैंकको जनता बैंकसँगको एक्वीजिसनको क्रममा विभिन्न ५ नयाँ काम पनि हुँदैछन् । हेरौं पृथक एक्वीजिसनको क्रममा हुन लागेका ५ काम, बुँदागत रुपमा :

१.कर्मचारी समायोजनमा नयाँ प्रयोग
माथि नै भनिसकियो कि सिद्धार्थ डेभलपमेन्ट बैंकले जनता बैंकसँग समाहित हुँदा एक्वीजिसन भन्दा पनि मर्जरको हैसियतमा कर्मचारीलाई समायोजन गर्ने सहमति गरेको छ । हाल जनता बैंकमा त्रिवेणी विकास बैंक गाभिएपछि कर्मचारीको संख्या ७ सयको हाराहारीमा छ । सिद्धार्थ डेभलपमेन्ट बैंकबाट सतप्रतिशत ३ सयको हाराहारीमा कर्मचारी समायोजन हुनेछन् । ‘कर्मचारी समायोजन गर्दा परीक्षा लिने तयारी सुरु गरेका छौ ।’ बैंकस्थित उच्च स्रोतले भन्यो–‘एउटा निश्चित मापदण्ड तोकेका छौ, जसअन्तर्गत राम्रो अंक ल्याउनेलाई एक तह बढुवा गरेर समायोजन गरिनेछ भने औसत अंक ल्याउनेले सिद्धार्थ डेभलपमेन्ट बैंककै तहमा रहेर काम गर्न पाउनेछ । तर, लिइने परीक्षामा खराब प्रदर्शन गर्नेलाई भने एक तह घटुवा गरेर समायोजनमा लगिनेछ ।’ 

यो प्रक्रिया हालसम्म कुनै पनि बैंक तथा बित्तीय संस्थाले मर्जरको क्रममा अवलम्बन गरेका थिएनन् । यो प्रक्रियाबाट क्षमताको कदर हुने र चिनजानको आधारमा भन्दा पनि उसमा रहेको कार्यक्षमताको आधारमा कर्मचारीले न्याय पाउने बैंक उच्च व्यवस्थापनको विश्वास छ । 

स्रोतकाअनुसार यस्तो परीक्षा बैंकका सहायकस्तरदेखि वरिष्ठ अफिसर तहसम्मकाले दिनुपर्नेछ । त्यसभन्दा माथिका कर्मचारीहरुको विगतको प्रदर्शन र कार्यक्षमताको फाइल तयार गरिने र अन्तरवार्ता लिइनेछ । सो क्रममा राम्रो प्रदर्शन गर्नेलाई सोही तहमा र खराब प्रदर्शन गर्नेलाई एक तह घटुवा गरेर जनता बैंकमा लगिने बताइएको छ । 

२.समान स्वाप रेसियो
जनता बैंकसँग एक्वीजिसनको अन्तिम प्रक्रियामा रहेको सिद्धार्थ डेभलपमेन्ट बैंकले विकास बैंक भएर पनि १ बराबर १ सेयर स्वाप रेसियो कायम गराउने सफलता पाएको छ । त्यसो त सिद्धार्थ डेभलपमेन्ट बैंक पनि आफैंमा एक टप विकास बैंक हो । यसका सबै प्रमुख आर्थिक सूचक उत्साहप्रद छन् । समस्याग्रस्त बनिसकेको जनता बैंकमा टप विकास बैंकको प्रवेशले उत्साह थप्ने भएकै कारण पनि सिद्धार्थ डेभलपमेन्ट बैंकका सेयरधनीलाई न्याय हुने गरी समान स्वाप रेसियो कायम गरिएको छ । यसको अर्थ अब सिद्धार्थ डेभलपमेन्ट बैकका सेयरधनीले जति कित्ता सेयर बैंकमा छ, जनतासँग गाभिएपछि त्यति नै कित्ता कायम हुने अवसर पाएका छन् । यसले एक्वीजिसनप्रति सेयरधनी समेत उत्साहित देखिएका छन् । संभवत विकास बैंकले वाणिज्य बैंकसँग मर्जर वा एक्वीजिसनमा जाँदा समान स्वाप रेसियो प्राप्त गरेको यो घटनालाई पनि पृथक रुपमा लिन सकिन्छ । 

३.संचालकमा सम्मानजनक ठाउँ
विकास बैंक भएर पनि सिद्धार्थ डेभलपमेन्ट बैंकले जनता बैंकमा गाभिइसकेपछि निर्माण हुने संचालक समितिमा समेत सम्मानजनक ठाउँ पाउनेछ । त्रिवेणी विकास बैंक गाभिएपछि केही बलियो बनेको जनता बैंकसँगको एक्वीजिसनपछि सिद्धार्थ डेभलपमेन्ट बैंकले संचालक समितिमा २ जनालाई पठाउन पाउनेछ । यसले बैंकका संचालकहरुलाई समेत उत्साहित बनाएको बुझिएको छ । सिद्धार्थ डेभलपमेन्ट बैंककै कारण जनता बैंकको कमजोर आर्थिक अवस्थामा समेत कायापलट हुने भएकोले संचालकमा २ सिट दिन जनता बैंकको टिम समेत तयार भएको देखिन्छ । उता, व्यवस्थापनमा सिद्धार्थ डेभलपमेन्ट बैंकले दोश्रो तह पाउनेछ । प्रमुख कार्यकारी अधिकृत कुमार लम्साल यथावत नै हुनेछन् भने डेपुुटी सीइओको रुपमा सिद्धार्थ डेभलपमेन्ट बैंकका सीइओ अजयकुमार मिश्र जानेछन् ।

४.हकप्रद फिर्ता, सेयरधनी मालामाल !
एक्वीजिसनको क्रममै जनता बैंकले समेत त्रिवेणीसँग गाभिएर कायम भएको चुक्तापुँजीको ६० प्रतिशतको दरले हकप्रद बिक्रीको निर्णय गरेको थियो । सिद्धार्थ डेभलपमेन्ट बैंकले पनि ६० प्रतिशत हकप्रद निश्कासनको तयारी गरेको थियो । एक्वीजिसनको क्रममा चुक्तापूँजीको हिसाबले बलियो विकास बैंक भएका कारण सिद्धार्थलाई ६० प्रतिशत हकप्रद बिक्री गर्न दिने र जनता बैंकको ६० प्रतिशत हकप्रद फिर्ता गर्ने महत्वपूर्ण सहमति गराउन समेत सिद्धार्थ डेभलपमेन्ट बैंकका संचालक तथा व्यवस्थापन सफल भए । यसले समान स्वाप रेसियोमा गाभिन लागेको बैंकका सेयरधनीले गाभिनुुअघि ६० प्रतिशत हकप्रद खरीदको महत्वपूर्ण अवसर पाए । यो कारण समेत सिद्धार्थ डेभलपमेन्ट बैंकको जनतामा बिलयलाई अर्को महत्वपूर्ण रुपमा हेरिएको छ । विकास बैंकको हात माथि पर्ने गरी र सो बैंकका सेयरधनी मालामाल हुने गरी भएको एक्वीजिसनको सम्झौता पनि संभवत यो नै पहिलो हो । 

५.चुुक्तापूँजी पुर्याएर एक्वीजिसनमा !
सिद्धार्थ डेभलपमेन्ट बैंकले जनता बैंकसँग मर्जरमा जाँदा चुक्तापूँजीको हिसाबले समेत नयाँ रेकर्ड बनाएको छ । सिद्धार्थ डेभलपमेन्ट बैंक त्यस्तो विकास बैंक बनेको छ, जो जनता बैंकसँग बिलय हुँदा ऊ आफैंको राष्ट्रबैंकले तोकेको भन्दा बढी चुक्तापुँजी पुगिसकेको हुनेछ । हाल यो बैंकले ६० प्रतिशत हकप्रद बिक्री गरिरहेको छ । हकप्रदको पूँजीकरणपछि चुक्तापुँजी २ अर्ब २७ करोड पुुग्नेछ । यो वर्ष ४० करोड नाफा हुुने हुँदा जनतासँग बिलय भइसक्दा यो बैंकको चुक्तापूँजी २ अर्ब ६० करोड माथि हुनेछ । नेपाल राष्ट्रबैंकले राष्ट्रिय स्तरको विकास बैंक बन्नलाई चालुु आर्थिक वर्षको चैत मसान्तसम्म २ अर्ब ५० करोड चुक्तापूँजी हुनुपर्ने प्रावधान राखेको छ । यसरी सिद्धार्थ डेभलपमेन्ट बैंक प्राप्तिमा जाँदा आफ्नै चुक्तापूँजी २ अर्ब ६० करोड हुनेछ । संभवत आफ्नै पूँजी पुगेपछि एक्वीजिसनमा जाने सिद्धार्थ डेभलपमेन्ट बैंक पहिलो बैंक बन्नेछ । 

जनता बैंकसँग बिलय हुने अन्तिम निर्णयका लागि आगामी जेठ १२ गते सिद्धार्थ डेभलपमेन्ट बैंकले विशेष साधारणसभा बोलाएको छ । जनता बैंकले पनि सिद्धार्थलाई प्राप्तिका लागि जेठ १३ गते विशेष साधारणसभा बोलाएको छ । दुवैको विशेष साधारणसभाबाट प्राप्तिको प्रस्ताव पारित भएपछि बाँकी रहेका अन्य काम द्रूत गतिमा अगाडि बढ्ने र असारभित्रमा एकीकृत बित्तीय कारोबार सुरु गर्ने तयारी थालिएको छ । 

त्यसो त निकै छोटो अवधिमा एक्वीजिसन सम्पन्न गर्ने बैंकको रुपमा समेत जनता र सिद्धार्थको प्राप्ति प्रक्रियालाई लिन सकिन्छ । यी दुुईबीच चैत तेश्रो साता एक्वीजिसनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो । यो हिसाबले असारभित्र एकीकृत कारोबार सुरु हुँदा निकै तीव्र गतिमा मर्जर सम्पन्न गर्ने बैंकको रुपमा जनता र सिद्धार्थले रेकर्ड राख्ने छन् ।

र, यो पनि...........
जनता बैंकसँग सिद्धार्थ डेभलपमेन्ट बैंक बिलय हुँदा लामो समयदेखिको नामको लफडा समेत अन्त भएको छ । यसले एकातिर राष्ट्रबैंकलाई राहात दिएको छ भने सिद्धार्थ बैंकलाई चिठ्ठा परेजस्तो भएको छ । कारण, नामको बिषयलाई लिएर सिद्धार्थ डेभलपमेन्ट बैंकलाई राष्ट्रबैंकले गैरकानूनी ढंगले पेलिरहेको थियो । यो विकास बैंकको साधारणसभाले राष्ट्रबैंकको निर्देशन अस्वीकार गर्दै नाम नफेर्ने अडान लिएको थियो । दर्ताको मितिको हिसाबले सिद्धार्थ डेभलपमेन्ट बैंकले नै सिद्धार्थ नाम पाउनुपर्ने देखिएपछि र कानूनी आधारमा यो बैंक माथि देखिएपछि नेपाल राष्ट्रबैंक पनि अप्ठ्यारोमा परेको थियो । अझ कम्पनी रजिष्टारको कार्यालयले त सिद्धार्थ डेभलपमेन्ट बैंकको दर्ता सिद्धार्थ बैंकको भन्दा पहिला भएको भन्दै उसलै सिद्धार्थ नाम पाउने प्रष्ट पारेको थियो । यसले केन्द्रीय बैंकलाई पनि अगाडि बढ्न असहज भइरहेको थियो । तर, जनता बैंकसँग बिलय हुने भएपछि अब नामको बिषयमा जारी कयौं महिनादेखि झगडा, किचलो र तनाव समेत अन्त भएको छ ।