काठमाण्डौ । सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडको शुक्रबार सम्पन्न विशेष साधारणसभा(एसजिएम)ले जनता बैंक नेपाल लिमीटेडमा बिलय हुने प्रस्ताव पारित गरेको छ । 

यो डेभलपमेन्ट बैंकलाई जनता बैंक नेपाल लिमिटेडले प्राप्ति गर्नका नेपाल राष्ट्र बैकबाट २०७४ बैशाख २१ गते प्राप्त सैद्धान्तिक सहमति अनुसार डिडिएको आधारमा निर्धारण गरिएको १ः१ शेयर अनुपातका आधारमा प्राप्ति(एक्विजिशन) गर्ने अन्तिम स्वीकृति प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो । 

बैंकले जारी गरेको प्रेस विज्ञप्ति अनुसार सभामा सिद्धार्थ डेभलपमेण्ट बैंकका सञ्चालक समिति अध्यक्ष रामबहादुर भण्डारीले पेश गरेका सञ्चालक समितिको जनता बैंकमा बिलय हुने सम्बन्धी प्रस्ताव ध्वनि मतले पारित गरेको थियो । सभाले जनता बैंकसँग एक्वीजिसनमा जाँदा भएका सम्झौतापत्र, संयुक्त मर्जर तथा एक्वीजिसन समितिले गरेका सबै निर्णय समेत अनुमोदन गरेको छ । 

सभामा अध्यक्ष भण्डारीले जनता बैंक नेपाल लिमिटेडमा प्राप्ति सम्बन्धी काम सम्पन्न भए पश्चात गठन हुने सञ्चालक समितिमा प्राप्ति गर्ने जनता बैंकबाट ५ जना र यस डेभलपमेण्ट बैंकबाट २ जना गरी ७ जनाको सञ्चालक समिति रहने र सम्पूूर्ण कर्मचारीहरुलाई समायोजन गरिने जानकारी दिए । उनले एक्विजिशन पश्चात जनता बैंक नेपाल लिमीटेडले १ हजार भन्दा बढी कर्मचारी र ११२ भन्दा बढी शाखा सञ्जालबाट बैकिङ्ग सेवा दिने र प्राप्ति पश्चात सेवालाई निरन्तरता दिन नचाहने कर्मचारीहरुका लागि बैंकले स्वेच्छिक अवकाश योजना(भिआरएस) कार्यान्वयन गर्ने सहमति समेत भएको बताए । 

सिद्धार्थ डेभलपमेण्ट बैंकलाई जनता बैंक लिमिटेडले प्राप्ति गरे पश्चात बैंकको चुक्ता शेयर पूँजी रु. ६ अरब ०६ करोड ५४ लाख ३८ हजार २ सय हुने र यस डेभलपमेण्ट बैंकले निश्कासन गरेको ६०% हकप्रद शेयर बापतको रकम रु.८५ करोड १५ लाख ५ सय साठी बिक्री पश्चात बैंकको कुल शेयर पूँजी जम्मा रु. ६ अरब ९१ करोड ६९ लाख ३८ हजार ७ सय साठी पुग्ने सभामा जानकारी दिइयो । साथै एकिकृत कारोवार पश्चात जनता बैंक नेपाल लि.ले चालु आ.ब.को नाफाबाट राष्टबैंकको निर्देशनुसारको रु.८ अरब चुक्ता पूँजी  सजिलै पुुग्ने बताइएको छ ।

सभाले ६ सदस्यीय संचालक समितिको निर्वाचन पनि सम्पन्न गरेको छ । जस अनुसार नवगठित सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट रामबहादुर भण्डारी, रतनलाल अग्रवाल र उद्धवचन्द्र गौतम तथा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट अर्जुनकुमार भट्टराई, बद्री खनाल र एनपीसिएम इण्भेष्टमेण्ट प्रा.लि.को निर्विरोध चयन गरेको छ । 

साधारण सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले शेयरधनीहरुको चाहना बमोजिम नै डेभलपमेण्ट बैंकलाई जनता बैंकमा एक्विजिशन गरिएको र दुबै संस्थाको एकिकृत कारोवार पश्चात जनता बैंक नेपालको नामबाट नेपालको बैकिङ्ग विकासमा उल्लेख्य प्रगति गरिने विश्वास व्यक्त गरे ।

सभामा बोल्ने सबै शेयरधनीहरुले डेभलपमेण्ट बैंकलाई एक्विजिशन गरी बाणिज्य बैंकमा गाभिएकोमा खुुशी व्यक्त गरेका थिए ।