काठमाण्डौ । पछिल्लो समय शाखा तथा व्यवसाय बिस्तारमा आक्रामक बनिरहेको जनता बैंक नेपाल लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म ९३ करोड ४७ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा यो नाफा ४७.६३ प्रतिशतले बढी हो । अघिल्लो वर्ष बैंकले ६३ करोड ३१ लाख मुनाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा बैंकले संचालन मुनाफातर्फ १४२.२२ प्रतिशतको छलाङ हानेको छ । अघिल्लो वर्ष यही अवधिमा ५८ करोड ४६ लाखमा सीमित संचालन मुनाफा बढाएर १ अर्ब ४१ करोडको उचाई चुमाएको हो । 

बैंकको आक्रामक व्यवसाय बिस्तार रणनीतिका कारण खूद ब्याज आम्दानीतर्फ पनि १०४.९६ प्रतिशत फड्को मारेको देखिएको छ । अघिल्लो वर्ष १ अर्ब १४ करोडमा सीमित खूद ब्याज आम्दानी बढेर २ अर्ब ३४ करोडको उचाईमा पुगेको हो । बैंकले ६ अर्ब ५५ करोड ब्याजबाट मात्र कमाए पनि ४ अर्ब २० करोड ब्याज खर्च रहेकोले अझै नाफा बढाउनसक्ने संभावना भने गुमाएको छ । 

समीक्षा अवधिमा जनता बैंकले ६० अर्ब १६ करोड निक्षेप संकलन गरी ५४ अर्ब ३८ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष ४८ अर्ब ५७ करोड निक्षेप संकलन गरी ४५ अर्ब ६५ करोड कर्जा परिचालन गरेको थियो । 

जनता बैंकले जगेडाकोषलाई समेत निकै मजबुत बनाएको छ । अघिल्लो वर्षसम्म ७९ करोड ७० लाखमा सीमित जगेडाकोषको आकार बढी यो वर्ष १ अर्ब ७३ करोडको उचाईमा पुगेको छ । 

यो अवधिमा जनता बैंकले खराब कर्जा असूलीलाई समेत प्राथमिकतामा राखेको देखिएको छ । यसैको परिणामस्वरुप अघिल्लो वर्ष २.०९ प्रतिशतको अनुपातमा रहेको खराब कर्जालाई घटाएर १.३२ प्रतिशतमा झार्न बैंक व्यवस्थापन सफल देखिएको छ । 

अघिल्लो वर्ष ७.९८ प्रतिशत रहेको कस्ट अफ फण्ड घटाएर ७.८८ प्रतिशतमा झार्न बैंक सफल देखिएको छ भने यो अवधिमा बैंकको इक्वीटीमा प्रतिफल ९.६५ प्रतिशत र सम्पत्तिमा प्रतिफल १.३१ प्रतिशत कायम भएको छ । 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ११.६८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२१.५८ रुपैयाँ र मूल्य आम्दानी अनुपात १३.४४ गुणा कायम भएको छ ।