काठमाण्डौ । जनता बैंक लिमीटेडले लगानीकर्तालाई ८.५० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । 

बैंकको आइतबार सम्पन्न नवौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७४/७५ सम्मको सञ्चित मुनाफा समेतको रकमबाट सेयरधनीहरुलाई ६८ करोड ६६ हजार ८ सय ३ रुपैयाँ नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो  

सञ्चालक समितिका अध्यक्ष केशवबहादुर रायमाझीको अध्यक्षतामा काठमाण्डौको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा सम्पन्न साधारणसभाले गत आर्थिक वर्षकोे वासलात र नाफा–नोक्सानहिसावसहितको वित्तिय विवरणहरु पनि स्वीकृत गरेको छ । 

सो सभाबाटसञ्चालक समितिको प्रतिवेदन स्वीकृत गर्नुका साथै, सञ्चालक समितिस्तरिय लेखापरिक्षण समितिको सिफारिसमा आर्थिक बर्ष २०७५/०७६ का लागि बाह्य लेखा परिक्षकमा SAR Associates, Chartered Accountants नियुक्त गर्ने निर्णय समेत गरेको छ । 

सभाले सम्बन्धित निकायको स्वीकृतिमा बैक आफै वा सहायक कम्पनीमार्फत शेयर ब्रोकरेज सम्बन्धी कार्य गर्ने ब्यवस्था प्रबन्धपत्रमा थप गर्न स्वीकृत गर्नुका साथै, बैक र अन्य उपयुक्त बैक र वित्तीय संस्था एक आपसमा गाभ्न÷गाभिन (मर्जर) वा स्वदेशी विदेशी रणनीतिक साझेदारीमा जानका लागि आवश्यक अख्तियारी सञ्चालक समितिलाई प्रदान गरेको छ।

साधारण सभाको मितिसम्म आईपुग्दा बैकको निक्षेप संकलन रु. ६८ अर्ब र कर्जा लागानी रु. ६३ अर्ब पुगेको छ । बैकको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म १२९ शाखा, ५० शाखारहित बैंकिङ इकाई, ७९ एटीएम सञ्चालनमा छन् ।

बैंकले चालु आर्थिक बर्षको प्रथम त्रैमासमा रु. ३२ करोड (एनएफआरएस बमोजिम) मुनाफा आर्जन गर्न सफल भएको छ ।