काठमाण्डौ । दुुईवटा राष्ट्रियस्तरका टप विकास बैंक मर्ज भएपछि धेरैले सोचेका थिए जनता बैंक लिमीटेडको अवस्थामा सुधार होला । उसो त, बैकिङ क्षेत्रका निकै सिनियर मानिइने पर्शुराम कुँवरले सो बैंकको कमान सम्हालेपछि यसले समेत बैंकको प्रगतिमा सुधार हुने धेरै लगानीकर्ताले सोचेका थिए । सिद्धार्थ डेभलपमेन्ट बैंकलाई अक्वायर गरेपछि एकीकृत कारोबार शुभारम्भ समारोहलाई सम्बोधन गर्ने क्रममा सीइओ कुँवरले बैंकलाई देशको टप फाइभ बैंकको लाइनमा उभ्याउने उद्घोषले धेरैमा आशाको संचार समेत भएको थियो । तर, चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा यो बैंकले यति कमजोर प्रगति विवरण निकालेको छ, जसले लगानीकर्तालाई निराश निराश बनाइदिएको छ । 

मर्जर र एक्वीजिसनबाट समेत पूँजीवृद्धि गरेका बैंकहरुले व्यवसाय बिस्तार गर्न नसक्दा, कर्मचारी खर्च व्यवस्थापन गर्न नसक्दा तथा अन्य संचालन खर्चमा लगाम लगाउन नसक्दा कस्तो हालत हुन्छ भन्ने गतिलो उदाहरण जनता बैंक नेपाल भएको छ । 

यो बैंकले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड ४८ लाख मात्र खूद नाफा कमाएको छ । संभावित जोखिम व्यवस्थापनबाट मात्रै ५ करोड ८३ लाख फिर्ता ल्याएको बैंकले कोर विजिनेश खासै गर्न सकेको देखिएन । गत वर्ष जनता बैंक एक्लैको नाफा ६ करोड ३९ लाख थियो । तर, २ वटा टप विकास बैंक गाभिइसकेपछि पहिलो त्रैमासको नाफामा ९ लाख मात्र बढ्नुुलाई आश्चर्यको रुपमा हेरिएको छ । 

गत वर्षको पहिलो त्रैमासमा १८ करोड ७२ लाख खूद ब्याज आम्दानी गरेको जनता बैंकको समीक्षा अवधिमा यस्तो आम्दानी बढेर ३५ करोड ८४ लाख पुुगेको छ । ५ करोड २९ लाखमा सीमित कर्मचारी खर्च बढेर १५ करोड ९० लाख भएको छ भने अन्य संचालन खर्च समेत ६ करोड १५ लाखबाट बढेर ११ करोड ४९ लाखको उचाईमा पुुगेको छ। 

समीक्षा अवधिमा जनता बैंकले ५२ अर्ब ३५ करोड निक्षेप संकलन गरी ४७ अर्ब ७३ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले २५ अर्ब २५ करोड निक्षेप संकलन गरी २१ अर्ब ८० करोड कर्जा परिचालन गरेको थियो । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ६८ करोड २६ लाख रुपैयाँ रहेको जगेडाकोषमा १ अर्ब ८९ करोड जम्मा भएको छ । 

गत वर्षको पहिलो त्रैमाससम्म १.१८ प्रतिशत रहेको खराब कर्जा बढेर समीक्षा अवधिमा १.६५ प्रतिशत पुुगेको छ । यो अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३.७१ रुपैयाँमा सीमित बन्न पुुगेको छ । यस्तै, प्रतिसेयर नेटवर्थ १२७.०६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६९ गुणा कायम भएको छ ।