काठमाण्डौ । प्रचण्ड नेतृत्वको सरकारले जनयुद्ध दिवसलाई पृथ्वी जयन्तीबराबरकै मान्यता दिंदै सार्वजनिक विदाको क्यालेण्डरमै समावेश गर्ने निर्णय गरेको छ । 

जनयुद्ध दिवसको दिन सार्वजनिक विदा दिने प्रचण्ड नेतृत्वको सरकारको निर्णयको चौतर्फी आलोचना भएको थियो । तर, ती आलोचनाहरुको बेवास्ता गर्दै सरकारले जनयुद्ध दिवस र पृथ्वी जयन्तीलाई सार्वजनिक विदाको वार्षिक क्यालेण्डरमै समावेश गर्ने निर्णय गरेको हो । 

शुक्रबार मन्त्रीपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्ता तथा सूचना, सञ्चारत तथा प्रविधिमन्त्री रेखा शर्माले २०८० सालका लागि यसअघि भएका बिदामा पुस २७ गते पर्ने पृथ्वी जयन्ती र फागुन १ गते पर्ने जनयुद्ध दिवसको बिदा थप्ने निर्णय भएको जानकारी दिएकी छिन् । 

जनयुद्ध दिवसको दिन विदा दिने निर्णय गर्नुअघि भने प्रचण्डले सार्वजनिक विदाहरु धेरै भएको भन्दै यसमा पुनरविचार हुनुपर्ने विचार व्यक्त गरेका थिए । तर, उनको त्यसपछि कदमले भने भनाई र गराईमा फरक देखिएको छ । 

सरकारले यस वर्ष पुस २७ गते र फागुन १ गते विदा दिएको थियो । अब क्रमले प्रत्येक वर्ष निरन्तरता पाउने गरी सो निर्णयलाई बैधता दिने प्रयास भएको देखिएको छ । 

प्रवक्ता शर्माले विदाको विषयमा के गर्ने भन्ने विषय क्याबिनेटमा छलफल भएको उल्लेख गर्दै त्यसमा कसरी पुनरावलोकन गर्न सकिन्छ भन्ने विषयमा पनि हेर्ने काम भइरहेको दाबी गरिन् । 

उनका अनुसार चालु वर्षका लागि अहिले पात्रो छापिसकेको अवस्थामा भदौसम्ममा विदाहरुको पुनरावलोकन गर्ने र आगामी सालका निम्ति व्यवस्थित गरेर लैजाने निर्णय भएको छ ।