काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा खुद बीमाशुल्क आर्जन ९ करोड ७५ लाख रुपैयाँ रहेको छ।

कम्पनीको आइतबार प्रकाशित प्रथम त्रैमास वित्तीय विवरणअनुसार यो बीमाशुल्क आर्जन गत वर्षको यही अवधिको तुलनामा ३८.२७ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले खुद बीमाशुल्कबापत ७ करोड ५ लाख रुपैयाँ आर्जन गरेको थियो।

समीक्षा अवधिमा कम्पनीको पुनर्बीमा कम्पनी आय २ करोड ४७ लाख रुपैयाँ रहेको छ। जुन गत वर्ष यही अवधिमा १ करोड ९१ लाख रुपैयाँ रहेको थियो। 

यसैगरी कम्पनीले लगानी, कर्जा तथा अन्यबाट ४० लाख ४१ हजार रुपैयाँ आर्जन गरेको छ। 

यो अवधिमा कम्पनीले १ करोड ६५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। गत वर्ष यही अवधिमा खुद दाबी भुक्तानी १ करोड ३० लाख रुपैयाँ रहेको थियो। यो हिसाबले दाबी भुक्तानी २६.९० प्रतिशतले बढेको छ। 

कम्पनीले व्यवस्थापन खर्च घटाएर ३ करोड २६ लाख रुपैयाँमा सीमित गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीको व्यवस्थापन खर्च ३ करोड ७६ लाख रुपैयाँ रहेको थियो। 

प्रथम त्रैमासमा कम्पनीको खुद नाफा ३०७.६२ प्रतिशतले बढेर २ करोड ३७ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिमा कम्पनीको खुद नाफा ५८ लाख ३५ हजार रुपैयाँमा सीमित थियो।

समीक्षा अवधिमा कम्पनीको जारी बीमालेखको संख्या १९ हजार ९२० रहेको छ। गत वर्ष यही अवधिमा कम्पनीको जाी बीमालेखको संख्या  १२ हजार ९०२ थियो। 

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ९.५१ रुपैयाँ, पीई रेसियो ३८.६८ गुणा र प्रतिसेयर नेटवर्थ ११२.६६ रुपैयाँ रहेको छ।