काठमाण्डौ । गाडी निर्माता कम्पनी अटोमोबाइल कम्पनी जनरल मोटर्सले भारतमा आफ्नो अन्तिम प्लान्ट पनि बन्द गर्ने भएको छ।

भारत र चीनबीच बढ्दो तनावका कारण जनरल मोटर्सले आफ्नो प्लान्ट बन्द गर्न लागेको हो। यो प्लान्ट डिसम्बरभित्रै बन्द हुने बताइएको छ।

जनरल मोटर्सको अन्तिम प्लान्ट भारतको महाराष्ट्रस्थित तालेगाउँमा छ। यो प्लान्टले अघिल्लो बिहीबारबाटै गाडी उत्पादन बन्द गरिसकेको छ। प्लान्टमा १ हजार ८०० कर्मचारी कार्यरत छन्। 

आर्थिक संकटको सामना गरिरहेको यो कम्पनीले भारमा रहेको आफ्नो प्लान्ट बेच्नका लागि चिनियाँ कम्पनी ग्रेट वाल मोटर्ससँग डिल गरेको थियो। तर भारत सरकारले यो डिललाई मञ्जुरी दिएन।

कम्पनीलाई विश्वास थियो कि यो वर्षको अन्त्यसम्म यो डिल पूरा हुनेछ। तर भारत र चीनबीच बढ्दो तनावका कारण भारत सरकारले यो डिललाई मन्जुरी दिएन।

लद्दाखमा चीन र भारतबीच तनाव सिर्जना भएको छ। जसका कारण चीनसहित अन्य छिमेकीबाट हुने लगानी नियन्त्रणमा भारतले कडा नियम लागू गरेको छ। केन्द्रीय सरकारले चीनविरुद्ध आर्थिक घेराबन्दी गर्नका लागि चिनियाँ कम्पनीहरुसँग डिलहरु फेरि जाँच सुरु गरेको छ। 

भारत सरकारले कतिपय क्षेत्रमा चिनियाँ सामानको प्रयोग पनि पूर्ण रुपमा रोक लगाएको छ।

त्यसो त जनरल मोटर्सले यसअघि पनि सन् २०१७ मा गुजरातको हलोलस्थित आफ्नो एउटा प्लान्ट चिनियाँ कम्पनी एसएआईसीलाई बेचेको थियो। अहिले यो प्लान्ट एमजी मोटर्सले प्रयोग गरिरहेको छ।

जनरल मोटर्सले आफ्ना कर्मचारीको हितका बारेमा पूर्ण सचेत रहेको जनाएको छ। उसले आउँदो महिनाभित्र सबै कर्मचारीलाई बाँकी रहेको तलबभत्ता भुक्तान गरिने स्पष्ट पारेको छ। – एजेन्सी