काठमाण्डौ । जनरल मोटर्सले थप ७३ हजार युनिट बोल्ट ईभी र ईयूभी इलेक्ट्रिक कारहरु बजारबाट फिर्ता मगाएको छ। 

कम्पनीले ती कारहरुमा आगलागीको समस्या आउन सक्ने भन्दै अमेरिका र क्यानडाका बजारबाट फिर्ता मगाएको हो। यसअघि जनरल मोटर्सले यसका लागि ८०० मिलियन डलर खर्च लाग्ने जनाएको थियो । तर अहिले थप बाँकी रहेका सबै बोल्ट गाडीहरु फिर्ता ल्याउन लाग्ने खर्च १ बिलियन डलर नाघ्ने अनुमान गरिएको छ। 

यसअघि पनि कम्पनीले ७० हजार युनिट बोल्ट कार समान सम्भावित समस्याका कारण फिर्ता मगाएको थियो। 

अहिले मगाइएका कारहरुमा सन् २०१७ देखि २०२२ सम्म उत्पादन भएका बोल्ट ईभी र ईयूभी रहेका छन्। 

फिर्ता मगाइएका बोल्ट कारहरुमा उत्पादनमा देखिएको कमजोरीका कारण चार्ज गरिसकेपछि आगलागी हुन सक्ने कम्पनीले जनाएको छ। ती कारहरुको ब्याट्री जाँच र परिवर्तन नगरिएसम्म कम्पनीले गाडीहरु ९० प्रतिशतसम्म मात्रै चार्ज गर्न सुझाव पनि दिएको छ। – एजेन्सी