सोमबारदेखि आन्तरिक उडान सुरु गरेको भारतमा उडानमार्फत विभिन्न गन्तब्य जाने यात्रुहरूको सङ्ख्या ५८ हजार ३१८ पुगेको भारतीय उड्ययन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सोमबार देशका विभिन्न स्थानबाट कूल ८३२ उडान गरिएको थियो ।

सोमबारका उडानहरूमध्ये  एउटा यस्तो उडान भएको छ जसमा एक पाँच वर्षका बालकले एकल हवाई यात्रा गरेका छन् ।

तीन महिनादेखि दिल्लीमा फसेका पाँच बर्षीय बालक बिहान शर्माका लागि सोमबार दिल्ली –बैंग्लोरको यात्रा आफ्नी आमासँग भेट गर्ने अनौठो संयोग बनेको हो । परिवारबाट टाढा रहेका शर्मा दिल्लीमा आफन्तकहाँ बस्दै आएका थिए । 

बैंग्लोरमा शर्माकी आमाले उनलाई रिसिभ गरेकी हुन् । 

सोमबार जब विहान बैंग्लोर एयरपोर्टमा पुग्दा उनकी आमा छोराको प्रतिक्षा गरिरहेकी थिइन्, उनले एएनआईसँग कुरा गर्दै छोरा दिल्लीबाट आएको जहाजमा एक्लै आएका विमानका कर्मचारीले आफूलाई बताएका जानकारी गराइन् ।

एएनआईले एकल यात्रा गर्ने ती बालकको हातमा विशेष श्रेणीको कार्ड बोकेको तस्वीरलाई सार्वजनिक गरेको छ । 

बिहान शर्मा केही दिनको छुट्टीमा दिल्लीमा रहेका आफ्ना हजुरबुवा र हजुरआमालाई भेट्न गएका समय लकडाउन भएपछि उनी तीन महिनासम्म आफ्नो काखबाट टाढा रहेको उनकी आमाले बताइन् ।